आइडल विजेता रविको शब्दले देशको मन जिते

काठमाडौं । कैलाली जिल्लामा बसोबास गर्ने गरिव परिवारका रवि ओडले नेपाल आइडल सिजन टू विजेता बनेर सबैको ध्यान आफूतिर तानेका छन ।

ओड पुरस्कारस्वरुप २२ लाख रुपियाँको चेक र एउटा होन्डा डब्लुआर भी कार प्राप्त पाएका छन । उनले एउटा एल्बमको सम्झौतासँगै विश्व भ्रमणको मौका पाएका छन ।

साधारण परिवारका ओडको गाउँमा टायलले छाएको सानो झुपडी घर छ । उनको घरमा पस्दा पनि टाउको चोट लाग्ने अवस्थामा छ । यो पुरस्कारले उनको जीवनमा ठूलो टर्निङ गरिदिएको छ । उनका बुबा अहिले पनि भारतमा पालेको काम गर्छन ।

आइडलमा विक्रम बराल फस्र्ट रनरअप बनेका छन । बरालले २० लाखको चेक प्राप्त गरेका छन ।

सेकेन्ड रनरअप बनेका सुमित पाठकले १२ लाखको चेक पाएका छन । अस्मिता अधिकारी चाहिँ थर्ड रनर अप भइन् । उनले होन्डा कम्पनीको स्कुटर प्राप्त गरेकी छन् । डिसेम्बर १ देखि उनीहरूले विश्वभर घुमेर प्रस्तुति दिनेछन् ।

विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र रवि ओड उत्कृष्ट चारमा पुगेका थिए ।

फिनाले पुल्चोक इन्जिनियरिङ कलेजको चौरमा शुक्रबार साँझ भएको थियो । प्रांगणमा हजारौँ मानिसको भीड जम्मा भएको थियो ।

धनगढी अडिसनमा कमल खत्रीको आवाजमा रहेको ‘जाउँला रेलैमा’ बोलको गीत गाएर ओड नेपाल आइडलमा प्रवेश पाएका हुन् ।

ओडका बाजे पनि देउडा गाउने गर्थे । बाजेसंगै उनी गीत गाउने कोशिस गर्थे । बाल्यकालमै आमा गुमाएका ओडले औपचारिक रुपमा संगीत सिकेका छैनन् । उनल मेला महोत्सवहरुमा गीत गाइरहन्थे ।

लोक दोहोरी, देउडा, क्लासिक, मेलोडियस तथा फिल्मी सबै प्रकारका गीतमा उनको स्वर सुहाउँदिलो सुनिन्छ ।

सुदूरपश्चिमेली ठाडो भाकामा उनको दखल छ । नेपाल आइडलको शुरुदेखि नै उनले अब्बल प्रस्तुति दिएर निर्णायक तथा दर्शकको मन जित्न सफल भएका थिए ।

ओली शिव परियार, सुगम पोखरेल, हेमन्त रानाका गीतबाट प्रभावित छन । फिनाले पनि ओडले शिव परियारको गीत गाएका थिए ।

उपाधि जितेसँग ओडले भनेका छन, ‘यो जीत मेरो मात्र होइन । मलाई साथ सहयोग, माया र भोट दिएर यो सफलता दिलाउने तपाईं सबैको जित हो ।’

बधाई तथा शुभकामना प्राप्त गरिरहँदा उनी बोल्न सकिरहेका थिएनन् । आँशु झारिरहेका थिए ।

Published : Saturday, 2018 December 22, 12:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया