यी हाइप्रोफाइल व्यक्तिको जेलमा बन्यो हत्या योजना

काठमाडौं । जेलमा रहेका गुण्डा नाइके समिरमान बस्नेतले आफ्नी पत्नी माया शेरचनमार्फत एनजिओकर्मी तथा पत्रकार कनकमणि दीक्षितको हत्या योजना बनाएको खुलासा भएको छ । हाल पक्राउ परेकी मायाले कात्तिक महिनाभित्रै दीक्षितलाई हत्या गर्ने योजना बनाएकी थिइन् ।

पाटन ढोकास्थित निवास आसपासमा दीक्षितलाई हत्या गर्ने योजना बनेको स्रोतले जनाएको छ । समिरमानका सहयोगी र पत्नी पक्राउ परेपछि दीक्षितको हत्याको योजना प्रहरीले थाहा पाएको हो ।

बानेश्वरको खरिबोटमा ०७४ असोज २३ गते दिउँसो मारिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न व्यक्तिहरूको छानविनका क्रममा पक्राउ परेका अभियुक्तले यस्तो गम्भीर घटनाको खुलासा गरेका हुन् ।

नेपालको राजनीतिक र सुरक्षा प्रशासनलाई असफल बनाउने गरी रचिएको कनकमणि हत्याको यस्तो योजनामा केही प्रहरीको संलग्नताबारे पनि अभियुक्तले बयान दिएको स्रोतले जनाएको छ ।

गौचन हत्याको अभियोगमा पक्राउ परी पुर्पक्षको लागि जेल चलान भएका गुण्डा नाइके समिरमानसिंह बस्नेत यो घटनाका मुख्य योजनाकार रहेको प्रहरी स्रोतको दाबी छ । समिरमानकै सूचनाका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

टोलीले गत कात्तिक १२ गते झापाको काँकडभिट्टाबाट अम्बरबहादुर राना मगर, लोप्साङ लामा र रोशन बुढाथोकीलाई पक्राउ गरेको थियो । यी तीनजनाको बयानका आधारमा कात्तिक १८ गते समिरमानकी पत्नी माया शेरचन पक्राउ परेकी हुन् । यो समूहले हाईप्रोफाइल मर्डरको तयारी गरेको थियो ।

यसअघि ०७३ चैत २९ गते गौरीघाट, नयाँबस्तीस्थित फिट्नेस क्लबमा छिरिरहेको बेला अज्ञात समूहले दावा लामामाथि गोली प्रहार गरेको थियो ।

कात्तिक १२ मा पक्राउ परेका अम्बर, लोप्साङ र रोशनले एउटै कुरा बताएका थिए । त्यसदिन दावामाथि प्रहार गरिएको पेस्तोल र गौचनको हत्यामा प्रयोग भएको पेस्तोल समिरमानकी पत्नी मायाले दिएकी थिइन् । लोप्साङ इटहरीका हुन् ।

बुटवलमा मारिएका दुर्गा तिवारीलाई गोली हान्ने लोप्साङ थिए । त्यसको जिम्मा मनोज पुनले लिएका थिए । आपराधिक क्रियाकलापमा मनोज पुन र समिरमानको मिलेमतो थियो । दावालाई गौरीघाटमा गोली हान्ने अम्बर राना भएपनि लोप्साङले त्यसको जिम्मेवारी लिएका छन् ।

दशैं अगाडि गौशालास्थित पशुपति भिजनमा गणेश लामालाई गोली चलाउने पनि अम्बर नै रहेको प्रहरीले जनाएको छ ।

मायाले कात्तिकभरि काम सिध्याउनुपर्छ भनेर हाईप्रोफाइल मर्डरका लागि तयार हुन उनीहरूलाई निर्देशन दिएकी थिइन् ।

समिरमान गत वर्ष मंसिरमा भारतबाट पक्राउ परेका थिए । उनी पुर्पक्षका लागि जेल चलान भएपछि पत्नी माया समिरमानलाई छुटाउन विभिन्न शक्तिकेन्द्र धाइरहेकी थिइन् ।

समिरमानले जेल चलान भएको केही दिनपछि पत्नीलाई जेलकै ल्याण्डलाइनबाट फोन गरेर कुनै प्रहरी कर्मचारीले भेटेर योजना बताउने हुँदा त्यहीअनुसार चल्न निर्देशन दिएका थिए ।

समिरमान समूहबाट गोली प्रहार गरिएपछि काठमाडौं छाडेका क्यासिनो लगानीकर्ता दावा लामा आजकाल सिक्किममा लुकेर बसेका छन् । दावा लामा तरुण दल काभ्रेका जिल्ला अध्यक्ष हुन् ।

फुटबलको सट्टेबाजीमा संलग्न भएको आरोपमा दावा लामा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सिलिगुडी, बागडोरा उड्ने क्रममा पक्राउ परेका थिए ।

सफाइ पाएर रिहा भएका हुन् । रिहालगत्तै बैंकक, दुबई र सिक्किमतिर बस्न थालेका छन् । काठमाडौंमा प्रहरी संरक्षित आपराधिक समूहबाट आफू खतरामा रहेको दावा लामाले बताउने गरेका छन् ।

Published : Wednesday, 2018 December 5, 8:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया