एक अर्ब ५ करोड अवैध रुपमा मलेसिया लगियो

काठमाडौं । मेडिकल दर्ताका नाममा लाखौँ रकम ठगी हुँदै आएको खुलेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका कामदारबाट माइग्राम्सका नाममा रकम ठगिएको हो ।

ठगिएको १ अर्ब ५ करोड रुपैयाँ अवैध रूपमै मलेसिया पठाइएको खुलेको छ । मेडिकल रजिस्ट्रेसनका नाममा विभिन्न म्यानपावर कम्पनीले मलेसियाको एक निजी कम्पनीलाई हुन्डीमार्फत सो रकम पठाएका हुन् ।

मलेसियाको बेस्टिनेट एसडिएन बिएचडी नामक कम्पनीले कामदारको स्वास्थ्य परीक्षण (बायोमेट्रिक) गर्नुपूर्व अनिवार्य माइग्राम्सको सफ्टवेयरमार्फत मेडिकल रजिष्ट्रेसन गर्नुपर्ने संरचना खडा गरेको छ ।

स्वास्थ्य परीक्षणपूर्व नै प्रतिव्यक्ति कामदारले मेडिकल दर्ता शुल्क ३ हजार ४ सय २२ रुपैयाँ कम्पनीको खातामा जम्मा गर्नुपर्ने हुन्छ । विदेशी कम्पनीको खातामा रकम जम्मा गर्न कुनै स्वीकृति नदिइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ३७ मेडिकल संस्थाको सिन्डिकेट कायम छ । उनीहरूले बायोमेट्रिक शुल्कबापत प्रतिव्यक्ति कामदार ४ हजार ५ सय रुपैयाँ लिँदै आएका छन् । त्यसमध्ये केही स्वास्थ्य व्यवसायीलाई सरकारले कारबाहीसमेत सुरु गरिसकको छ ।

असार ०७२ देखि बायोमेट्रिक तथा माइग्राम्सका नाममा मलेसिया जाने कामदारमाथि ठगी सुरु भएको हो । त्यसयता गत वैशाखसम्म ३ लाख ७ हजार १ सय ११ जना नेपाली कामदार मलेसिया गएको सरकारी तथ्यांक छ ।

Published : Thursday, 2018 June 21, 4:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया