टेलिकमले ल्यायो अत्यन्तै सस्तोमा नयाँ सेवा

काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल एलर्ट (Missed Call Alert – MCA) सेवालाई पुनः सञ्चालन गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा कम्पनीले सो सेवा जेठ १५ गते मंगलबारबाट पुनः सञ्चालनमा ल्याउने भएको हो ।

जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ । यो सेवा शुभारम्भ भए पश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउने सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सेवा शुभारम्भ गर्नको लागि उपभोक्ताले एसयुबी लेखेर स्पेस दिइ एमसीए लेखेर १४ सयमा एसएमएस गर्नुपर्ने हुन्छ । स्टार १४ सय ह्यास डायल गरेर पनि यो सेवा लिन सकिने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्ताहरुलाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । त्यसपछि भने मासिक रुपमा ५ रुपैयाँ शुल्क लाग्नेछ ।

यस्तैगरी गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर ल्याएको छ ।

जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्ने छन् ।

१२ रुपैयाँमा कम्पनीको नेटवर्क भित्र १ सय २० वटा एसएमएस पठाउन सकिने ‘एसएमएस प्याक’ पनि ल्याएको छ । सो प्याक ५ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ ।

अनलिमिटेड प्याक र एसएमएस प्याक सोमबार जेठ १४ गतेदेखि आगामी जेठ २८ गतेसम्म खरिद गर्न सकिन्छ । प्याकेज खरिद गर्नका लागि स्टार १४ सय स्टार आठ ह्यास डायल गर्न सकिन्छ ।

Published : Monday, 2018 May 28, 9:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया