पार्टी एकीकरण हुँदै गर्दा एमाले–माओवादीका विद्यार्थी संगठनबीच हानहान

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको अन्तिम तयारी भइरहेका यी दुई दलका विद्यार्थी भातृ संगठनबीच हानाहान भएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा आइतबार एमाले निकट अनेरास्ववियुले माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीमाथि आइतबार आक्रमण गरेका हुन् ।

अखिल क्रान्तिकारीका एक नेताले भने, ‘नेपाल टेलिकमको सिम कार्ड वितरण गर्न हामीले राखेको स्टलमा एमाले निकट अखिलले आक्रमण गरेर भत्काइदिए ।’

यद्यपि, एमाले निकट अखिलले क्याम्पसभित्र नेपाल टेलिकमको सिम कार्ड निःशुल्क वितरण गरेर सदस्यता वितरण गरेकाले आफूहरूले बाध्य भएर स्टल भत्काउनु परेको दाबी गरेको छ ।

अखिल क्रान्तिकारीको स्टल भत्काइदिएपछि अखिल क्रान्तिकारी र एमाले निकट अखिलबीच केही समय झडप भएको थियो ।

आरआर क्याम्पसमा एमाले निकट अखिलको आधिपत्यलाई अखिल क्रान्तिकारीले धावा बोल्दै आएको छ । बेलाबेला यी दुई संगठनबीच झडप हुने गरेको छ । अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरूले एमाले अखिलको दादागिरिलाई आफूहरूले नसहने चेतावनी दिएका छन् ।

यसअघि पनि बेलाबेलामा एमाले अखिल र नेविसंघबीच झडप हुने गरेका थिए । नेविसंघले आरआरमा एमाले अखिललाई साँढेको संज्ञा दिँदै आएको छ ।

Published : Sunday, 2018 April 22, 11:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया