ठेकेदारका कारण सान्जेनको काम रोकियो

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको तल्लो सान्जेन आयोजना ठेकेदारहरूको लापरबाहीका कारण काम रोकिएको छ ।

मुख्य ठेकेदार र पेटी ठेकेदारबीच लेनदेनमा कुरा नमिल्दा ३ महिनादेखि आयोजनाको काम रोकिएको हो । ०७५ माघ १ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म करिब ६० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजना प्रमुख गणेश केसीले बताए ।

चार भागमा विभाजन गरेर निर्माण भइरहेको आयोजनाको महत्वपूर्ण मानिएको पावरहाउसको काम विवादका कारण रोकिएको हो । विवादकै कारण समयमै काम सम्पन्न हुन नसक्ने भन्दै आयोजनाले भारतीय निर्माण कम्पनी एससिडब्लुलाई कारबाहीको चेतावनी दिएको छ ।

आयोजना निर्माण गर्न भारतीय कम्पनी एसिडब्लु र नेपाली कम्पनी तुन्डी कन्स्ट्रक्सनले संयुक्त रूपमा (जेभी) ठेक्का लिएका हुन् । एसिडब्लुले ७० प्रतिशत र तुन्डीको भागमा ३० प्रतिशत काम परेको छ ।

कामको बाँडफाँड गर्दा पावरहाउस निर्माण एसिडब्लु र टनेलको काम तुन्डीको भागमा परेको थियो । तुन्डीले कामलाई निरन्तरता दिए पनि भारतीय कम्पनीले जिम्मा लिएको काम भने रोकिएको आयोजनाले जनाएको छ ।

हिमाल हाइड्रोले पुनः अर्को ठेकेदार कम्पनी गोमा एचजी कन्स्ट्रक्सनलाई पावरहाउसको सिभिलको काम गर्न १० करोड ५७ लाखमा जिम्मा दिएको थियो । तर, हिमाल हाइड्रोले काम चित्त नबुझेको भन्दै एकतर्फी रूपमा ठेक्का सम्झौता तोडेको जनाएको छ ।

हिमाल हाइड्रोले गोमासँग लिखित सम्झौता गरेर काम गरेको जनाएको छ । गोमा एचजीले भने करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।

त्यसको करिब ३ करोड ८६ लाख रुपैयाँबराबरको भुक्तान हिमाल हाइड्रोले नदिएको गोमाका प्रबन्ध निर्देशक श्याम घिसिङले बताए ।

Published : Saturday, 2018 March 17, 7:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया