‘कृ’को गीत चोरीको, एक करोड क्षतिपूर्ति माग

काठमाडौं । शम्भु प्रधानको फिल्म ‘सम्झना’को गीत चोरी गरेर आफ्नो फिल्म ‘कृ’मा राखेपछि अभिनेता भुवन केसीले सरकारी अड्डा धाउनु परेको छ ।

अभिनेता केसीले आफ्ना छोरा अनमोल केसीलाई हिट बनाउन पुरानो फिल्म ‘सम्झना’को गीत चोरी गरेर ‘कृ’मा राखेका थिए । ‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि…’ बोलको गीतलाई ‘कृ’मा राखिएको थियो । यो गीतमा अहिले आएर अनमोल र अदिती बुढाथोकीले अभिनय गरेका छन् ।

३३ वर्षअगाडि सयपत्री मुभिजले शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको यो गीतमा उतिबेला भुवन केसी र तृप्ती नाडकरले अभिनय गरेका थिए ।

प्रतिलिपी अधिकार ऐन, २०५९ को दफा २५ (१) (क) र (ख) बमोजिमको कसुर गरेको भनेर निर्देशक शम्भु प्रधानले अभिनेता केसीविरुद्ध उजुरी दिएका हुन् । श्रष्टा र स्वामित्ववालको अनुमतिबिना कुनै पनि सिर्जना वा उत्पादन प्रयोग गर्नुलाई नेपालको कानूनले फौजदारी अभियोगसरह सजायँको व्यवस्था गरेको छ ।

आफ्नो फिल्मको गीत प्रयोग गरेबापत शम्भु प्रधानले कूल आम्दानीको ५० प्रतिशत रकम क्षतिपूर्तिस्वरुप दावी गरेका छन् । दावीबमोजिम क्षतिपूर्ति दिँदा पनि एक करोडभन्दा बढी तिर्नुपर्छ ।

केही दिनअघि ‘कृ’ पक्षका कानून व्यवसायी र प्रहरीले शम्भुलाई ‘दुई–तीन लाख रुपैयाँ लिनुस्, चूप लागेर बस्नुस्’ भनेका छन् । तर प्रधानले त्यो प्रस्ताव अस्वीकार गरेका छन् ।

आफ्नो फिल्मको गीत अर्कै फिल्ममा सुनेपछि प्रधानले भुवन केसीसँग फोनमा कुरा गरेका थिए । तर, कुराको टुंगो लाग्नसकेको थिएन ।

निर्देशक प्रधानले ‘सम्झना’ फिल्मको सिक्वेल निर्माणको तयारी गरेका छन् । त्यही ‘उकालीमा पछि–पछि…’ बोलको गीतलाई अझ राम्रो बनाएर फिल्म राख्ने योजना बनाएको प्रधानले बताए ।

Published : Wednesday, 2018 March 7, 10:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया