यी हुन् काठमाडौंमा राति छुरा हान्ने दङ्गालीहरू, डिएसपी खड्काले लिए ‘एक्सन’

काठमाडौं । काठमाडौंमा मध्यराति बाटोमा हिँडिरहेका युवाकहरूलाई छुरा हान्ने दाङका दुई युवकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ १३ गते राति साढे दश बजे काठमाडौ महानगरपालिका वडा नं. १६ बालाजु माछापोखरीस्थित बुद्ध मलको अगाडि हिडिरहेका गोरखा भीमसेन गाउँपालिका ४ का २२ वर्षीय सुवास लामिछाने, धादिङ गंगा जमुना गाउँपालिका ७ घर भएका २३ वर्षीय मानबहादुर घले र धादिङ सिद्धलेक गाउँपालिका ४ का २० वर्षीय सुरज थापालाई दाङ र दोलखा घर भएका युवाहरूले छुरा हानेको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्नेमा दाङ जिल्ला पुरन्धरा घर भई हाल काठमाडौंको तारकेश्वर ११ मनमैजु हिलेडोल बस्ने २२ वर्षीय तिलकबहादुर घर्ती मगर, सोही स्थानमा बस्ने १७ वर्षीय अनीष खड्का र दोलखा जिल्ला कालिञ्चोक १ घर भई हाल काठमाडौं स्वयम्भु बस्ने १८ वर्षीय मिलन सिवाकोटी रहेका छन् ।

घटना पश्चात तारकेश्वर ११ स्थित अभियुक्तमध्येका दाङ घर भएका तिलकबहादुर घर्ती मगरको डेराकोठामा लुकिछिपि बसेको अवस्थामा प्रहरी निरीक्षक जनार्दन घिमिरे नेतृत्वको टोलीले माघ १४ गते दिउँसो २ बजे घटनामा प्रयोग भएको धारिलो हतियार चक्कुसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

घाइतेमध्ये सुवास लामिछाने र मानबहादुर घले धादिङ–काठमाडौं चल्ने बसका चालक र सुरज थापा सहचालक हुन् । चालक तथा सहचालक खाना खाई सुत्नको लागि माछापोखरीस्थित धादिङ बसपार्कमा पार्किङ गरी राखेको बसभित्र जाने क्रममा बुद्ध मल अगाडि आईपुग्दा एक्कासि अन्धाधुन्द कुटपिट तथा चक्कु प्रहार भएको थियो ।

घाइतेमध्येका मानबहादुर घलेको पेट तथा आन्द्राको विभिन्न भागमा र सुरज थापाको घाँटी, छाती, कोखा, ढाड लगायत विभिन्न स्थानमा चोट लागेको छ ।

अर्का घाइते सुवास थापाको ढाडमा चोट लागेको छ । घटना पश्चात् तत्काल महानगरीय प्रहरी वृत्त बालाजुबाट प्रहरी नायव उपरीक्षक विश्वराज खड्का समेतको टोली खटी गई स्थानीय समेतको सहयोगमा घाइतेहरूलाई पिपल्स मेडिकल कलेज नयाँबजार पठाएको थियो । घाइतेमध्येका सुरज थापालाई थप उपचारको लागि वीर अस्पताल ट्रमा सेन्टर रिफर गरिएको छ ।

घटनाका फरार दोषीहरूको खोजी तीब्र पारिएको छ । पक्राउ अभियुक्तहरूलाई सोमबार काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी भनाइ छ ।

Published : Monday, 2018 January 29, 10:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया