फरार सिलवाललाई खोज्न प्रहरी सक्रिय

काठमाडौं । आईजीपी बढुवा काण्डमा कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको अभियोगमा कारबाहीको दायरामा परेका पूर्व डिआईजी नवराज सिलवाललाई नेपाल प्रहरीले खोजतलासको अभियानलाई तीब्र बनाएको छ ।

छानविनको दायरामा परेपछि लुकेर बसेका सिलवाललाई खोज्न प्रहरीको टोली आइतबार ललितपुरको भट्टेडाँडामा पुगेको थियो । सिलवाल केही दिनदेखि लुकेर बस्दै आएका छन् । ट्वीटमा सक्रिय रहेका सिलवाल विदेशमा रहेको भनेर झुठ समाचार सम्प्रेषण गराउँदै आएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट डिएसपीको कमान्डमा १ सय ६५ जनाको टोलीले भट्टेडाँडा पुगेर सिलवाललाई सर्च गरे पनि सिलवाल फेला नपरेको प्रहरीले जनाएको छ । करिब चार घन्टा लगाएर गरिएको सर्च असफल भएको हो ।

सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाडौं प्रहरीले उनलाई खोज्न थालेको थियो ।

सिलवालसँग सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई काठमाडौं प्रहरीले गत पुस १८ गते पत्राचार गरेको थियो । तर, प्रहरी परिसर ललितपुरले सिलवालको ठेगानामा उनी नभेटिएको भन्दै पत्राचार गरेको थियो ।

Published : Sunday, 2018 January 21, 5:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया