फरार रहेका नवराज सिलवाललाई थपियो संकट

काठमाडौं । फरार रहेका पूर्व डिआइजी नवराज सिलवाललाई जहाँ भेटे पनि पक्रन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

बढुवाका लागि कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको अभियोगमा छानविन गर्न प्रहरीले सिलवालको खोजी गरिरहेको छ ।

प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट सांसद निर्वाचित हुन् ।

प्रहरी प्रधान कार्यालयले बुधबार पत्राचार गर्दै भेट्नासाथ समात्न निर्देशन दिएको हो । काठमाडौं प्रहरीको खोजीमा रहेका सिलवालविरुद्ध सातै प्रदेशमा खोजेर समात्न पत्राचार भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाडौं प्रहरीले उनलाई खोज्न थालेको थियो ।

सिलवालसँग सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई काठमाडौं प्रहरीले गत पुस १८ गते पत्राचार गरेको थियो । प्रहरी परिसर ललितपुरले सिलवालको ठेगानामा उनी नभेटिएको भन्दै पत्राचार गरेको थियो ।

ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभामा नवनिर्वाचित नवराज सिलवालले पूर्व निर्धारित कार्यक्रमका लागि मलेसिया पुगेको भन्दै आफू फरार नभएको जानकारी दिएका थिए । उनले मलेसियमा जुन कार्यक्रमका लागि गएको बताएका थिए, त्यहाँ त्यस्तो कुनै कार्यक्रम नै थिएन ।

उनले जुन एयरलाइन्सबाट मलेसिया गएको जानकारी दिएका थिए, त्यसको समेत फ्लाइट सेड्युल नै गलत थियो । त्यसयता कुनै पनि मिडियामा उनी सार्वजनिक भएका छैनन् ।

पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि एमालेका अध्यक्ष केपी ओलीसँग गोप्य भेट गरेर सिलवाल अण्डरग्राउण्ड भएका हुन् । स्रोतका अनुसार सिलवाल नेपालमै लुकेर बसेको बताइएको छ ।

Published : Wednesday, 2018 January 17, 9:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया