फेसबुकमा ठूलो परिवर्तन, के–के हुँदै छ सुधार ?

न्यूयोर्क । फेसबुकका संस्थापक मार्क जुकरबर्गले बिहीबार आफ्नो फेसबुकमा एउटा लामो स्टाटस पोस्ट गरे । भोलिपल्ट जब अमेरिकाको सेयर बजार खुल्यो, त्यही स्टाटसको प्रभावका कारण फेसबुकको सेयर भाउ निरन्तर ओरालो लाग्दै गयो । लगानीकर्ताहरुले झण्डै २५ अर्ब अमेरिकी डलर गुमाए। शुक्रबार बजार बन्द हुँदासम्म फेसबुकको सेयर ४.२ प्रतिशत अङ्क घटेको थियो ।

के थियो त त्यो स्टाटस जसले फेसबुकलाई यति ठूलो असर पार्यो ? उनले चानचुने कुरा लेखेका थिएनन्, अर्बौँको प्रयोगकर्ता रहेको फेसबुकमा आउने महत्त्वपूर्ण परिवर्तनको घोषणा थियो त्यो । उनले लेखेका थिए- फेसबुकको न्युजफिडमा अब मिडिया कम्पनीका न्युज हुने छैनन् । तपाईँका साथीभाइ र परिवारको पोस्टलाई प्राथमिकता दिइनेछ ।

फेसबुकमा हुन लागेको यो ठूलो परिवर्तन हो। यसले मिडिया कम्पनीका पोस्टहरु र विज्ञापन गरिएका पोस्टहरुलाई प्रयोगकर्ताको न्युजफिडमा देखाएर ठूलो कमाइ गरिरहेको कम्पनीको आयमा कस्तो असर पार्छ भन्ने अन्यौल रहेका कारण सेयर ओरालो लागेको थियो । बिजनेस इन्साइडरका अनुसार फेसबुकले पछि आफ्ना मिडिया पार्टनरहरुलाई एउटा इमेल पठाउँदै गर्न लागिएको परिवर्तन बारे विस्तृत जानकारी दिएको थियो । त्यसमा दिइएको जानकारी अनुसार उनीहरुको फेसबुक पेजमा अर्गानिक रिच कम हुनसक्छ तर कुनै पोस्टहरुले ‘अर्थपूर्ण संवाद’ थालेका छन् भने त्यसमा कुनै असर पर्ने छैन । सँगसँगै क्लिक पाउनका लागि रकम तिरेर पोस्ट बुस्ट गर्न अब सम्भव नहुने जानकारी पनि दिइएको छ ।

धेरैले याद गरेको विषय हो- फेसबुकमा साथीभाइ र परिवारका सदस्यहरुभन्दा पनि पब्लिक पोस्टहरुको बाढी लागेको छ । यसले प्रयोगकर्ताहरुमा बिस्तारै वितृष्णा बढाउँदै दीर्घकालमा कम्पनीलाई गम्भीर असर पर्ने विश्लेषण भएपछि आफ्नै कमाइलाई जोखिममा पारेर पनि जुकरबर्गले यस्तो निर्णय गर्नुपरेको हो ।

अमेरिकी राष्ट्रपतिको चुनावमा फेक न्युजले पारेको असर बारे अहिलेसम्म मिडिया पण्डितहरु विश्लेषण गरिरहेका छन् । नेपालमा पनि सिएमआर नेपालले गरेको एउटा अनुसन्धानमा एउटा फेक समाचारको जस्तो देखिने हेडलाइनलाई हजारौँ प्रयोगकर्ताले सेयर गरेको देखिएको थियो, त्यसभित्र के लेखिएको छ पढ्दै नपढी । विश्वभर यस्तो प्रवृत्ति बढ्दो थियो र यसका कारण कम्पनीको आलोचना पनि बढ्दै थियो ।

तत्काल घाटा भए पनि दीर्घकालमा यसले कम्पनीलाई फाइदै गर्ने विश्लेषण विज्ञहरुले गरेका छन् । क्वार्टजमा पाउल स्मालेराले त यसलाई ड्रग डिलरको पुरानो ट्याक्टिकसँग तुलना गरेका छन् । उनको विश्लेषण छ- ड्रग डिलरले ओभरडोज दिन थाल्यो भने मृत्यु हुने भएकोले बरु डोज घटाउँदै लग्ने गर्छ । फेसबुकबाट दिक्क भएकाहरु पनि छाडेर गए भने फर्कन गाह्रो हुन्छ । त्यसैले डोज घटाएर त्यसैमा रहेर रमाउने वातावरण बनाउन जुकरवर्गले यो प्रयास गरेका हुन् ।

जुकरबर्गले लेखेका छन्- यो परिवर्तन रोल आउट गर्दै गएपछि तपाईँले बिजनेसहरु, ब्रान्डहरु र मिडियाका पब्लिक कन्टेन्टहरु कम देख्न पाउनु हुनेछ । र तपाईँले देख्नुहुने पब्लिक कन्टेन्ट स्टायन्डर्डको हुनेछ, यसले मानिसहरु बीच अर्थपूर्ण संवादलाई बढावा दिनेछ । त्यसो भए के अब तपाईँले फेसबुकमा ‘भगवान शिवलाई एक लाइक गर्नुस्’ लेखिएका विज्ञापन र ‘आइफोन १० उपहार पाउन यो पोस्ट सेयर गर्नुस्’ लेखिएका पोस्टहरु देख्नुहुने छैन त ? हेर्न बाँकी छ ।

फेसबुक पेज लाइक गर्नुभएको छ भने यस्ता समाचार तपाईँले फेसबुकमा देख्न पाउनु हुने छैन । यदि तपाईँको कुनै साथी वा आफन्तले फेसबुकमा सेयर गरेका रहेछन् वा कमेन्ट गरेका रहेछन् भने मात्रै तपाईँको फेसबुकको न्युजफिडमा त्यो देखिनेछ । यसले लाखौँ लाइक भएका र लाइकका लागि सयौँ डलर खर्च गरेका फेसबुक पेजहरु पनि प्रभावित हुने पक्का छ । – एजेन्सी

Published : Sunday, 2018 January 14, 11:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया