नक्कली नेपाली नोटसहित एकजना पक्राउ

काठमाडौं । मकवानपुरमा प्रहरीले नेपाली एक हजारको नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं. १६ स्थित स्मृति मोक्तानको चिया पसलबाट ३१ वर्षीय मनोज पन्तलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा प्रहरीले बारा जितपुर सिमरा १६ निवासी पन्तलाई जालीसहित पक्राउ गरेको जनाएको छ ।

‘जाली नोट साट्न खोजेको छ’ भन्ने सूचनाको आधारमा उक्त स्थानमा गई प्रहरीले चिया पसलमा पन्तले नेपाली एक हजारको जाली नोट साट्न लागेको अवस्थामा फेला पारेको थियो ।

पन्तको शरीरमा खानतलासी गर्दा पाईन्टको पछाडिको खल्तीमा पर्सभित्र लुकाई छिपाई राखेको नेपाली एक हजारका ८ वटा जाली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, मकवानपुर प्रहरीले जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद तोकिएपछि फरार रहेका हेटौँडाका चन्द्रबहादुर दोङलाई पनि पक्राउ गरेको छ । ३ नम्बर प्रहरी प्रदेश कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले दोङलाई पक्राउ गरेर जिल्ला अदालतमा पेस गरेको जनाएको छ ।

Published : Friday, 2018 January 5, 12:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया