राजनेता बन्दै ‘प्रचण्ड’, केपी ओलीलाई तनाब बढ्यो

भरतपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेशबारे चलिरहेको विवाद समाधान छिटै हुने विश्वास व्यक्त गरेका छन् ।
चितवनमा आइतबार भएको एक कार्यक्रममा दाहालले त्यो विवाद समाधानको उपाय वामपन्थीहरूले नै खोज्नुपर्ने र कांग्रेसलाई सम्हालेर लैजानुपर्नेमा आफ्नो जोड रहेको बताए ।
‘उपायको खोजी गर्नेतिर ध्यान दिँदा नै राम्रो हुने हो कि भनेर, भर्खरै केपीजीसँग मैले सोचौँ है, हल हामीले नै निकाल्नुपर्छ भनेको छु’, अध्यक्ष दाहालले भने, ‘दुई तिहाईको झण्डै नजिक मत ल्याएकाले अब हामी नै नम्र हुनुपर्ने, जिम्मेवार हुनुपर्ने र कांग्रेस लगायत प्रतिपक्षलाई पनि हामीलेनै सम्हालेर लिएर जानुपर्ने जिम्मेवारी छ, भनेको छु ।’
राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय प्रणालीबाट गर्ने कांग्रेसको अडान छ भने एमालेले बहुमतीयबाट हुनुपर्ने अडान राख्दै आएको छ । सरकारले राष्ट्रपति समक्ष पठाएको अध्यादेशमा एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभाको निर्वाचन हुनुपर्ने उल्लेख छ ।
यस्तो व्यवस्था संविधानमा नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म प्रमाणीकरण गरेकी छैनन् ।
एमालेले पनि उक्त अध्यादेश संविधानसम्मत नभएको भन्दै विरोध जनाएको छ ।
एमालेसंगै गठबन्धन गरेको माओवादीका अध्यक्षले भने आफूहरूले कांग्रेसको कुरा पनि सुन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
‘नेपाली कांग्रेसको समस्या के हो बुझिदिनुपर्ने देख्छु मैले । बहुमतीयमा गयो भने राष्ट्रिय सभामा कांग्रेसको एउटा पनि आउने भएन । एक जना पनि नआउने भएपछि हामी वामपन्थीलाई पनि खुसीको कुरा हुँदैन । यो प्रणालीभित्र कमसेकम प्रतिपक्षका दुईचार जना मान्छे भए÷हुँदाखेरी छलफल बहसमा जो जीवन्तता आउँछ । एउटा पनि भएन भने त अल्लि अप्ठेरो पनि हुन्छ की ?’, उनले भने ।
राष्ट्रिय सभाको गठनसम्बन्धी विवाद केही कानूनीजस्तो देखिए पनि राजनीतिक भएकाले यसको समाधान गर्न सकिनेमा अध्यक्ष दाहालले विश्वास व्यक्त गरे ।
चितवनबाट बिहानै ओलीलाई फोन गरेर यसको समाधानका बारे आफूले छलफल गरेको उनले बताए ।
‘बिहान केपीजी र मैले लामो कुरा गरेका थियौँ र यसको हल निकाल्ने विकल्पको बारेमा छलफल भयो । हल निकालेर छिटो भन्दा छिटो सरकार गठन गरेर यो स्थितिलाई लम्बिन नदिने हाम्रो कोशिश छ’, उनले भने ।
‘त्यतिबेला कांग्रेसका साथीहरूलाई बहुमतीयबाट जाँदा त राष्ट्रिय सभामा कांग्रेसको उपस्थिति शून्य पनि हुन सक्ने खतरा भयो भन्ने बुद्धि आयो । अनि उहाँहरूले संशोधन राख्न सुरु गर्नुभयो । यो बिमारी त्यहाँबाट सुरु भएको हो । झन् माओवादी र एमाले पार्टी एकता गर्ने नै भएपछि कांग्रेसका साथिहरूले यो विषय छोड्नै हुँदैन भनिराख्नुभएको छ’, अध्यक्ष दाहालले भने ।
1 प्रतिकृया प्राप्त “राजनेता बन्दै ‘प्रचण्ड’, केपी ओलीलाई तनाब बढ्यो”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सम्बिधानमा भएको ब्यबस्थालाई मानेर जनमतको कदर नगर्ने हो भने निर्वाचन गर्नुको औचित्य के ?