क्याम्पसभित्रै विद्यार्थीमाथि छुरा प्रहार

वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा अपरिचित समूहले एक विद्यार्थीमाथि छुरा प्रहार गरेको छ ।

शुक्रबार बिहान साढे ७ बजेको समयमा ५ जनाको अज्ञात समूहले बीबीएस प्रथम वर्षका विद्यार्थी रोशन यादवमाथि छुरा प्रहार गरेको हो ।

यादवको छाती र हातमा छुरा प्रहार गरी ज्यान लिने प्रयास भएको विद्यार्थी फोरमका नेता निखिल बर्णवालले जानकारी दिए ।

वीरगञ्ज १३ राधेमाई घर भएका घाइते विद्यार्थी यादवको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएर गण्डक अस्पताल रिफर गरिएको छ । यादवको अवस्था चिन्ताजनक रहेकाले रिफर गरिएको अस्पतालका चिकित्सक डा. मनोज गुप्ताले बताए ।

ठाकुरराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रोशन लामिछानेले गुन्डा प्रकृतिको एक समूहले विद्यार्थीमाथि हमला गरेको बताए ।

उनले विद्यार्थीबीच बिहीबार व्यक्तिगत कुरामा सामान्य झगडा भएको पनि बताए । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिश कर्णले छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको बताए । छुरा प्रहार गरेको अभियोगमा प्रहरीले केही युवालाई पक्राउ गरेको छ ।

 

Published : Friday, 2017 December 22, 2:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया