एनसेलको पैसा बालकोट दरबारसम्म, उपेन्द्रको विशेष भूमिका

काठमाडौं । मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले शेयर खरिदमा गरेको अर्बौं छलीलाई गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संरक्षण दिंदै आएको खुलेको छ ।

एनसेलको ८० प्रतिशत सेयर खरिद विक्रीमा लाभकर वापतको ६० अर्व रुपैयाँ असुल हुन नसकिरहेको बेला महतोले २० अर्व छली गर्ने रणनीति अपनाएका छन् । शुरुमा २० प्रतिशतको साझेदार रहेका निरजगोविन्द श्रेष्ठसँग मिलेर महतोले सर्वोच्च अदालतलाई प्रभावमा पारी अर्बौं रकम छली गरेका छन् ।

महतोको कम्पनी सिनर्जी नेपालले सेयर खरिद विक्रीमा लाभकर नतिर्न सुरुमा सर्वोच्च अदालतमार्फत सेटिङ मिलाएपछि सोही ‘फर्मुला’ अपनाउँदै निरजगोविन्द पनि अदालतमार्फत अन्तरिम आदेश लिन सफल भएका छन् ।

ठूला करदाता कार्यालयले सिनर्जी कम्पनीले कर छली गरेको जनाएपछि महतोले २०६८ सालमै अदालतमार्फत सेटिङ मिलाई २० अर्व रकम राज्यलाई बुझाएका छैनन् । अहिले पनि गत असोज २ मा निरजगोविन्दले अदालतमा महतोको नजिरलाई आधार मानी सर्वोच्च मार्फत ‘स्टे अर्डर’ लिएर १० अर्व लाभकर बुझाएका छैनन् ।

टेलियासोनेराको साझेदार रहेका निरज गोविन्द श्रेष्ठले २० प्रतिशत शेयर सिङ्गापुरमा बसोबास गर्ने व्यवसायी शतिशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठको नाममा रहेको सुनिभेरा क्यापिटल भेन्चर्स प्रालिलाई बिक्री गरेका थिए । सोही वापत उनले तिर्नुपर्ने १० अर्व लाभकर रकम बुझाउन आनाकानी गर्दै आएका छन् ।

यता, शतिशलालले डलर अपचलन गरि बिदेशमा रकम पठाएको भन्दै यहिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । अख्तियारले महतो एनसेलमा छँदाखेरीको डलर अपचलनको अर्को फाइल पनि झिकाएर अनुशन्धान गरिरहेको छ ।

आइटीका सामान खरिद गर्ने नाममा महतोले तत्कालिन समयमा झण्डै १० अर्व रुपैयाँ विदेश पठाई सामान नै खरिद नगरि हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । त्यतिखेर स्पाइस नेपाल प्रालिमार्फत महतोले अर्बौं रकम विदेश पठाएका थिए ।

सोही प्रकरणमा पनि अख्तियारले अनुसन्धान अगाडि बढाएको स्रोतको दावी छ । अख्तियारको अनुसन्धानसँगै कर कार्यालयले एनसेलको शेयर खरिद बिक्रीमा विदेशी मुद्रा अपचलनको निष्कर्ष निकालेर अर्थ मन्त्रालयलाई जानकारी दिएको थियो ।

अख्तियारले अर्थबाट फाइल मगाएर कही समय अघि देखी नेपाल राष्ट्र बैकका अधिकारीसँग समेत छलफल गरि सो बिषयमा गम्भिर ढंगले अनुसन्धान गरिरहेको छ ।

एनसेलको स्थानीय साझेदारको रुपमा आचार्यले २० प्रतिशत शेयर किनबेचका क्रममा विदेशबाट रकम भुक्तानी गर्दा बिदेशी मुद्रा अपचलन गरेको निष्कर्ष निकाल्दै ठूला करदाता कार्यालयले अर्थमन्त्रालयमा जानकारी पठाएको थियो । स्विडेनको टेलियासोनेराले मलेसियाको एक्जिएटालाई एनसेलको ८० प्रतिशत शेयर बिक्री गर्दा स्थानिय साझेदारको २० प्रतिशत सेयर पनि खरिद विक्री भएको थियो ।

निरजले ११ अर्ब ५७ करोड ६० लाख रुपैयाँमा उक्त शेयर बिक्री गर्दा ११ अर्ब ३२ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन भएको भन्दै दुई अर्ब ८३ करोड १५ लाख रुपैयाँ लाभकर तिरेका थिए । तर, सतिशले सुनिभेराको वासलातमा भने एनसेलको २० प्रतिशत शेयर खरिद गर्दा तीन अर्ब ३१ करोड २४ लाख १५ हजार रुपैयाँ मात्र लगानी गरेको देखाएर सिधै कर ठगि गरेको स्पष्ट देखिन्छ ।

सुनिभेराको बासलातमा नदेखाइएको आठ अर्ब २६ करोड ३५ लाख ८५ हजार रुपैयाँ भुक्तानी एवं प्राप्त गर्ने मुद्रा, व्यक्ति र स्थान (नेपाल या बाहिर) बारे थप अध्ययन गर्नु पर्ने ठूला करदाता कार्यालयको प्रतिवेदनलाई आधार मानि अख्तियारले अनुसन्धान गरिरहेको छ । नेपालको दूरसञ्चार नीति अनुसार टेलिकम कम्पनीमा स्थानीयको २० प्रतिशत शेयर हुनै पर्ने प्रावधान उल्लंघन भएको र विदेशी मुद्रा अपचलन गरिएको थियो ।

लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख छँदा राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपाललाई ‘ब्ल्याकमेलिङ’ गरी एनसेलको १० अर्व नगद लाभांश पठाउन दबाब दिएका थिए । पछि अख्तियारमा दिप बस्नेत प्रमुख बनेपछि शतिशलालका कारोबारहरु माथि अख्तियारले छानविन गर्दै आएको छ ।

स्रोतले भन्यो–‘अहिले अख्तियारमा बिनोद तिमील्सिना नामका एक दलालले सतिशको डिजाइनमा मुद्दा मिलाउन ठुलो रकको चलखेल गरेका छन् । सुरुमा तिनै ले लोकमानलाई मिलाएर मुद्दा मिलाएका थिए ।’ एनसेल खरिद गर्नु अघि एक्जिएटाले आचार्यलाई कम्बोडियाको टेलिकम कम्पनी स्मार्ट एक्जिएटा मार्फत १० मिलियन डलर लगानी गरेको थियो ।

यहि लगानीका कारण एनसेलमा एक्जिएटाले शतिशलाल आचार्यलाई नेपालका सम्पूर्ण कानुनी झण्झटबाट मुक्त गराउन दबाब दिंदै आएको छ । त्यतिबेला शतिशले प्राप्त गरेको उक्त रकम नेपालमा सेटिङ मिलाउन खर्च गर्ने गरी एक्जिएटाले लगानी गरेको समेत चर्चा थियो ।

सोही कारण एनसेल खरिद विक्रीको लाभकर प्रकरणमा आचार्यले देशका शिर्ष नेताहरुदेखि लिएर प्रशासनसम्म चलखेल गर्दै आएका छन् । आचार्यले लाभकरबाट उक्कन एमाले अध्यक्ष केपी ओलीका पिए राजेश बज्राचार्य मार्फत ओलीलाई पनि करोडौं रकम खर्चदै आएका छन् ।

– यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

Published : Thursday, 2017 December 14, 11:28 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया