अर्जुन र परिणितिको फिल्म बैतडीमा सुटिङ

मुम्बई । छिमेकी फिल्म उद्योग बलिउडका पनि थुप्रै फिल्म नेपालमा खिचिएका छन् । नेपालमा बलिउडका झण्डै दर्जन बढी सुपरहिट फिल्महरु खिचिएका छन् ।

देव आन्दको फिल्म ‘हरे राम हरे कृष्ण’, अमिताभ बच्चनको ‘महान’, ‘खुदा गवाह’, अनिल कपुरको ‘घरवाली बाहरवाली’, ‘युद्ध’, गोविन्दाको ‘एक हसिना एक दिवाना’ जस्ता नेपालमा खिचिएका फिल्मले नेपाललाई सुन्दर तरिकाले प्रस्तुत गरेका थिए ।

सन् २०१४ मा छायांकन गरिएको अक्षय कुमार अभिनित फिल्म ‘बेबी’ले पनि नेपालको भक्तपुरलाई बेग्लै बान्कीमा प्रस्तुत गरेको थियो ।

बलिउडबाहेक भारतका थुप्रै भाषाभाषीका फिल्म पनि नेपालमा खिचिने गरेका छन् । अक्षयको फिल्म छायांकन भएको झण्डै तीन वर्ष पछि यो सगरमाथाको देशमा नयाँ फिल्म ‘सन्दिप और पिंकी फरार’शीर्षकको फिल्म छायांकन हुँदैछ ।

दिवाकर बनर्जीले निर्देशन गर्ने फिल्म नेपाल र भारतको सीमा क्षेत्रमा सुटिङ हुन लागेको हो । फिल्म केही समयपछि नै सुटिङका लागि नेपाल आउँदैछ।

अर्जुन कपुर र परिणिति चोपडा अभिनित यो फिल्मको पहिलो सेड्युलको छायांकन नयाँदिल्लीमा सकिएको छ । फिल्मको दोस्रो सेड्युल नेपालसँग सीमाना जोडिएको उत्तराखण्डको पहाडमा रहेको सानो शहर पिथौरागढ र नेपालको बैतडी जिल्लास्थित झुलालघाट पुलमा खिचिनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका निर्माताले सुन्दरता, ग्रामीण परिवेश र पहुँचयोग्य स्थान भएकाले नेपाल र भारतको सीमाना छनौट गरेको बताएका छन्  ।

फिल्म बन्ने भएपछि यशराज फिल्मस्ले गत अक्टोबरमा नेपालस्थित सरकारी निकायलाई यो स्थानमा फिल्म छायांकनका लागि अनुमति माग्न पत्र पठाएको थियो ।

Published : Tuesday, 2017 December 5, 8:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया