बालयौन दुराचारी विदेशी पक्राउ

काठमाडौं । बालयौन दुराचारको उद्देश्य पूरा गर्न नेपाल आएका एक डच पर्यटक पक्राउ परेका छन् । कोटेश्वरको एक होटलबाट ७५ वर्षीय डच नागरिक हेन्रिकस अड्रिनुस जोसेफुस क्रुइजिसेन पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले होटलको कोठाबाट एक बालकलाई समेत उद्धार गरेको छ । कमजोर आर्थिक अवस्था भएका ती बालकलाई आर्थिक प्रभावमा पारी उनले अप्राकृतिक यौन गतिविधि गरेको प्रहरीले जनाएको छ ।

बालकहरूसँग यौन क्रीडामा रमाउन नेपालमा पर्यटक आउने प्रहरी अधिकारी बताउँछन् । पछिल्लो पाँच महिनामा तीनजना विदेशी पक्राउ परिसकेका छन् ।

२२ भदौमा अस्ट्रियन नागरिक केन्डलर मार्कुसलाई सिआइबीले पक्राउ गरेको थियो । समाजसेवी बनेर उनले धादिङको गोगनपानीमा बालकलाई यौन शोषण गरेका थिए ।

१५ असारमा प्रहरीले जर्मन नागरिक अल्बर्ट फ्रेड क्लिनिचेलाई पक्राउ गरेको थियो । उनको कोठाबाट एक बालकलाई समेत उद्धार गरेको थियो । नेपालमा बारम्बार विदेशीहरू बालयौन दुराचारको अपराधमा पक्राउ पर्दै आएका छन् ।

दुई वर्षअघि विश्वकै कुख्यात बालयौन दुराचारी फेनविक म्याकन्तोस ललितपुरमा पक्राउ परेका थिए । सेन्ट जेभियर्स वेलफेयर सेन्टरका एक बालकलाई होटेलमा लगेर यौन शोषण गरेका थिए ।

धनाढ्य व्यवसायी म्याकन्तोस क्यानडाका कुख्यात बालयौन दुराचारी हुन् । जो भारतमा समेत बालयौन दुराचारकै आरोपमा पक्राउ परेका थिए । क्यानडामा मोस्ट वान्टेड रहेका उनलाई भारतमा पक्राउ गरी क्यानडामा बुझाइएको थियो ।

तीन वर्षअघि क्यानडामा छुटेपछि उनी नेपालमा बस्दै आएका थिए । उक्त घटनामा उनलाई सात वर्ष मात्र कैद सजाय भएको थियो । ललितपुर जिल्ला अदालतले उनलाई पीडित बालकलाई १० लाख क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । हाल उनी जेलमा छन् । केही महिनाअघि फ्रान्समा पक्राउ परेका जेरार्ड फिलिपसमेत बालयौन दुराचारकै लागि पटक–पटक नेपाल आउने गरेको खुलेको छ ।

Published : Sunday, 2017 November 12, 10:10 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया