दाङ कांग्रेसका उम्मेदवारहरूलाई मतदान गर्न समाजको अपील

काठमाडौं । ‘दाङ–काठमाडौं प्रजातान्त्रिक समाज’ले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका नेपाली कांग्रेसका उम्मेaदवारहरूलाई विजयी बनाउन अपील गरेको छ ।

काठमाडौंको बत्तीसपुलतीमा शुक्रबार भएको समाजको भेलाले कांग्रेसका मतदाताहरूलाई निर्वाचनमा सहभागी भएर कांग्रेस उम्मेदवारहरूको पक्षमा मतदान गर्न अपील गर्ने निर्णय गरेको हो ।

भेलाले राजधानीमा बसोबास गर्ने कांग्रेसप्रति आस्थावानहरूलाई घर गई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

समाजका अध्यक्ष किरण किशोर घिमिरेले वाम गठबन्धनको अधिनायकवादी ल्याउने योजनालाई असफल बनाउनका लागि कांग्रेसका मतदाताहरूको एक–एक भोटको महत्व हुने बताए । ‘कांग्रेसका उम्मेदवारहरूको पक्षमा मतदान गर्नुपर्छ’, उनले भने, ‘कांग्रेसले मात्रै व्यक्तिगत स्वतन्त्रताको रक्षा, संविधान कार्यान्वयन, विकास गर्छ ।’

नेपाल पत्रकार महासंघका उपाध्यक्ष समेत रहेका पत्रकार विपुल पोख्रेलले वामपन्थीहरूले पार्टी एकीकरण गरेर मुलुकमा अधिनायकवाद ल्याउने तयारी गरेको भन्दै त्यसलाई रोक्नु अहिलेको पहिलो काम रहेको बताए ।

‘हामी लोकतन्त्रवादी हौँ । पार्टीभित्रको विवाद मंसिर २२ गतेपछि दगलफसल गरौँला । अहिले भनेको नेपाली कांग्रेसको उम्मेदवारहरूलाई जिताउने पहिलो दायित्व हो’, उनले भने ।

भेलामा सहभागीहरू दीपेन्द्र अधिकारी, बसन्त अधिकारी, पवन आचार्य, सुरेश श्रेष्ठ, केशव बोहरासहितकाले कांग्रेसका उम्मेदवारहरूका लागि आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

भेलामा दाङ जिल्ला घर भई राजधानीमा विभिन्न पेशा, व्यवसायमा संलग्न, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन आइरहेका बेला प्रजातान्त्रिक समाजले कांग्रेसको पक्षमा माहोल बनाउन भेला आयोजना गरेको हो ।

Published : Friday, 2017 November 10, 5:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया