दाङमा देखियो कांग्रेसको पक्षमा जनलहर, एमाले–माओवादी ‘चकित’ (तस्बिरसहित)

घोराही । नेपाली कांग्रेस दाङले स्थानीय तहमा देखिएको त्रुटिलाई प्रतिनिधि सभा र प्रदेश सभामा दोहोरिन नदिने भएको छ ।

सोही योजनाअन्तर्गत दाङ कांग्रेसले शक्ति प्रदर्शनसहित प्रतिनिधि सभा र प्रतिनिधि सभाका लागि उम्मेदवारीहरू दर्ता गराएको छ ।

कांग्रेसको पक्षमा प्रदेश र प्रतिनिधि सभाका लागि जनलहर देखिएको स्थानीय मतदाताहरूले समेत प्रतिक्रिया दिएका छन् ।

एमालेका नेता उमेशचन्द्र थापाको हत्यामा संलग्न बलिभद्र राना जस्तो व्यक्तिलाई प्रदेश सभामा समानुपातिक उम्मेदवार बनाएपछि दाङ एमालेभित्र बिद्रोह भइसकेको छ । रानाका कारण एमालेभित्र योगदान गरेका धेरै नेताहरू रुष्ट छन् ।

घोराही बजारमा जम्मा भएका नेपाली कांग्रेसका पक्षमा देखिएको जनलहरबाट एमाले र माओवादी केन्द्रका उम्मेदवारहरू डराएको सहभागी कांग्रेसका एक कार्यकर्ताले दाबी गरे ।

‘कांग्रेसको पक्षमा माहोल आऐ जस्तो लागेको छ’, उनले भने, ‘कम्युनिष्टरूको पक्षमा दाङका जनता छैनन् ।’

नेपाली कांग्रेस राप्ती गाउँपालिकाका नेता सीताराम चौधरीले कांग्रेसले स्थानीय तहमा देखाएको गल्तीलाई दोहोराउन नहुने बताए । ‘दाङ कांग्रेसका केही समस्याबाहेक सबै मिलेको छ’, चौधरीले भने, ‘कम्युनिष्टहरूलाई दङ्गालीको मत जाँदैन ।’

नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १७ का ईकाई सभापति सन्तोष योगीले क्षेत्र नं. २ मा उम्मेदवार बनेका कृष्णबहादुर महरालाई मतदाताले नचिनेको प्रतिक्रिया दिए ।

‘कृष्णबहादुर महरा दाङका बसिन्दा होइनन्’, उनले भने, ‘पहिलो संविधानसभाबाट दङ्गालीले जिताएर पठाए । कुनै पनि विकासको काम गरेनन् । एमालेको बुई चढेर अहिले आएर फेरि उम्मेदवार बनेका छन् ।

दाङ क्षेत्र नं. १ मा कांग्रेसबाट प्रतिनिधिसभामा सुशीला चौधरी, क्षेत्र नं. २ मा राजु खनाल र क्षेत्र नं. ३ मा दीपक गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभातिर क्षेत्र नं. १ को ‘क’मा प्रदीप थापा र ‘ख’मा जानकीलाल बस्नेतले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. २ को ‘क’मा किष्णकिशोर घिमिरे र ‘ख’मा भरतबहादुर न्यौपाने तथा क्षेत्र नं. ३ को ‘क’मा डिल्लीबहादुर चौधरी र ‘ख’मा बुद्धिराम भण्डारीले उम्मेदवारी दर्ता गराएको नेपाली कांग्रेस दाङका कीर्तिबहादुर खड्काले जानकारी दिए । सभापति खड्काले कांग्रेसका सबै उम्मेदवारहरूको जित सुनिश्चित रहेको दाबी गरे ।

Published : Friday, 2017 November 3, 10:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया