व्यक्तिको स्मरण छोटो समयमा समाप्त हुन्छन्, सीआईबीले जघन्य अपराध हेरिरहेको छ : आईजीपी कार्की

काठमाडौं । नेपाली प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी संगठनको इन्स्टिच्युसनल मेमोरीमा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन् ।

उनले दशकौँपछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाही गर्दै आएको बताए । आईजीपी कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताए ।

‘व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो,’ कार्कीले भने, ‘यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न ।’ त्यस्ता मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको उनले बताए ।

‘ती पुराना घटनाको अध्ययन र निरन्तरको अनुसन्धानबाट घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउने कार्य प्रहरी संगठनले गर्दै आएको छ,’ कार्कीले भने ।

पुराना चर्चित घटनालाई विशेष टोली गठन गरेर अनुसन्धान गरिरहेको आईजीपी कार्कीले बताएका छन् । उनले त्यसबाट केही–केही घटनामा राम्रो सफलता मिलेको बताए ।

आईजीपी कार्कीले केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको बताएका छन् । ‘नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ,’ कार्कीले भने ।

नेपाल प्रहरीले आधुनिक पुलिसिङका स्ट्यान्डर्डलाई अवलम्बन गर्दै उनले अन्य मुलुकका विशिष्ट प्रहरी संगठनका सदस्यसँग समन्वय गरिरहेको बताएका छन् । उनले प्रविधिको प्रयोगबाट भएका आपराधिक क्रियाकलाप रोक्न प्रहरी संगठन सक्षम हुने बताएका छन् ।

Published : Sunday, 2026 August 23, 5:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया