सशस्त्र प्रहरीले सीमा सुरक्षा र सूक्ष्म निगरानी गर्छ : आईजीपी पौडेल
चन्द्रौटा । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सशस्त्र प्रहरी सीमा सुरक्षाको पहिलो पहरेदारका रुपामा निष्पक्ष र जिम्मेवार ढंगले काम गर्नुपर्ने बताएका छन् ।
कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले राखेको नवौँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै उनले नागरिकको सेवा, शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा सशस्त्र प्रहरी थप जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।
पौडेलले संगठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थमा नभई राष्ट्र हितमा प्रयोग गर्न निर्देशन निर्देशन दिए ।
आईजीपी पौडेलले समयानुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम गर्नु पर्ने बताए । उनले मानव अधिकारको सम्मान गर्दै आवश्यकताअनुसार बल प्रयोग गर्नु पर्ने बताए ।
सीमा सुरक्षा राष्ट्रको संवेदनशील विषय भएकाले सीमामा हुने गतिविधिको सूक्ष्म निगरानी गर्नुपर्ने उनले बताएका छन् । सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार तथा नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने उनले बताए ।
समारोहमा विभिन्न समयमा कर्तव्यपालनका क्रममा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सम्मान गरिएको छ ।
विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपक अधिकारीले बाहिनीको स्थापना र हालसम्मको गतिविधिबारे जानकारी गराएका छन् ।
विक्रम संवत् २०७५ भदौ ७ गते स्थापना भएको नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयअन्तर्गत १२ जिल्ला रहेका छन् ।
बाहिनीअन्तर्गत ८ वटा गण, ६ वटा गुल्म, १ वटा मद्दती सेवा गुल्म, ९ वटा सीमा सुरक्षा गुल्म, ५० वटा बीओपी, २७ वटा सुरक्षा बेस र ५ वटा एफओबी गरी कुल १०६ वटा इकाई रहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया