राजनीतिक प्रणालीमाथि संकट आउँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्छ : कांग्रेस नेता निधि
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि व्यवसायीहरूको सक्रियता आवश्यक रहेको बताएका छन् ।
आइतबार जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले नेपाली जनताको लामो संघर्ष र दुई पटकको संविधानसभा निर्वाचनबाट प्राप्त संघीय संरचना र संविधानमाथि अहिले विभिन्न पक्षबाट प्रहार भइरहेको बताए ।
राजनीतिक प्रणालीमाथि संकट आउँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने उल्लेख गर्दै नेता निधिले व्यवसायीहरूलाई राजनीतिक चासो राख्न र प्रणाली जोगाउन एकजुट हुन अपील गरेका छन् ।
निधिले सुनचाँदी व्यवसायीहरूलाई कालोबजारीको रूपमा हेर्ने सरकारी दृष्टिकोण गलत रहेको बताए । निधिले भने, ‘देशमा सात प्रदेश, ७५३ स्थानीय तह र ६ हजार ७४३ वडासहितको जुन ऐतिहासिक संरचना बनेको छ, यसको सफल कार्यान्वयन आजको आवश्यकता हो ।’
‘राजनीतिक दलहरूबीचको आन्तरिक द्वन्द्व र अन्य कारणले संघीयता, लोकतन्त्र र समावेशितामाथि खतरा उत्पन्न भएको छ,’ निधिले भने, ‘राजनीतिक दलका नेताहरूको मात्र विषय हो भनेर नठान्नुस् । यो तपाईंहरूको पनि प्रत्यक्ष सरोकारको विषय हो । प्रणाली नै रहेन भने कुनै पनि व्यवसाय सुरक्षित रहन सक्दैन ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया