एमालेका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले एमालेका मुख्यमन्त्री किरण थापा मगरको पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ ।

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्विपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यलाई निर्देशन दिएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाले कांग्रेसले आफ्ना सदस्यलाई सोहीअनुसार मतदान गर्न ह्विप जारी गरेको छ ।

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

एमालेका मुख्यमन्त्री थापालाई समर्थन गरेको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद छ । राप्रपाको नीति र निर्णय विपरीत समर्थन गरेकै कारण राप्रपाको कारबाहीमा परेका उद्धव थापाले आफ्नो व्यक्तिगत लेटर प्याडमार्फत एमालेका मुख्यमन्त्री थापालाई समर्थन गरेका छन् ।

राप्रपाले उद्धव थापालाई पार्टीको सदस्यताबाट मुक्त गर्दै प्रदेश सभा सदस्यबाट हटाएको छ । मन्त्री बनेका तीन जनालाई राप्रपाले १२ घण्टे स्पष्तीकरण सोधेको छ ।

Published : Sunday, 2026 August 23, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया