शेरबहादुर देउवा फर्किनु एउटा महत्वपूर्ण राजनीतिक घटना हो : नेता गुरुङ

सुरज गुरुङ, नेता नेपाली कांग्रेस

१) समसामयिक नेपाली राजनीतिलाई तपाईंले अहिले कुन अवस्थामा देखिरहनुभएको छ ?

👉️ अहिले नेपाली राजनीति एउटा संक्रमणको अवस्थामा छ । जनताको अपेक्षा र राजनीतिक दलहरूको परम्परागत कार्यशैलीबीच ठूलो अन्तर देखिएको छ । जनताले अब केवल राजनीतिक परिवर्तन वा चुनावी नाराभन्दा सुशासन, रोजगारी, अवसर, उत्पादन र समृद्धि खोजिरहेका छन् ।

त्यसैले अबको राजनीति केवल सत्ता र चुनावको वरिपरि सीमित हुनुहुँदैन । राजनीतिले नागरिकको दैनिक जीवन र आर्थिक अवस्थासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्छ ।

२) यही समग्र राजनीतिक परिवेशमा नेपाली कांग्रेसको वर्तमान अवस्थालाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ ?

👉️ कांग्रेससँग लामो इतिहास, ठूलो संगठन र देशको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान छ । तर अहिले पार्टीभित्र देखिएको अन्योल र भद्रगोललाई सामान्य आन्तरिक विवादका रूपमा मात्र हेर्नु हुँदैन ।

यो समयअनुकूल राजनीतिक सोच, सांगठनिक संरचना र कार्यशैली परिवर्तन गर्नुपर्ने संकेत पनि हो । कांग्रेसले आफ्नो ऐतिहासिक योगदानको सम्मान गर्दै वर्तमानको यथार्थ स्वीकार गरेर भविष्यका लागि आफूलाई पुनः तयार गर्न सक्नुपर्छ ।

३) कांग्रेस नेता शेरबहादुर देउवा नेपाल फर्किएपछि कांग्रेसभित्रको अहिलेको राजनीतिक अवस्थाले कस्तो दिशा लिन सक्छ ?

👉️ आदरणीय नेता शेरबहादुर देउवा ज्यू फर्किनु एउटा महत्वपूर्ण राजनीतिक घटना हो । तर उहाँ फर्किनु मात्रले कांग्रेसका सबै समस्या समाधान हुँदैनन् ।

अब महत्वपूर्ण कुरा व्यक्तिगत समीकरण वा गुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर पार्टीको भविष्य, संगठनको पुनर्संरचना, आन्तरिक एकता र जनविश्वास पुनःस्थापित गर्ने विषयमा नेतृत्वले कस्तो पहल गर्छ भन्ने हो ।

४) कांग्रेसको इतरपक्षले राष्ट्रिय भेला आयोजना गर्दैछ । तपाईं यसलाई कसरी हेर्नुहुन्छ ?

👉️ राष्ट्रिय भेला शक्ति प्रदर्शन वा कसैलाई दबाब दिने कार्यक्रम मात्र बन्नु हुँदैन । यसले कांग्रेसको वर्तमान अवस्था, आगामी दिशा, संगठन सुधार र बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीलाई कसरी रूपान्तरण गर्ने भन्नेबारे गम्भीर बहस र नयाँ दृष्टिकोण दिन सक्नुपर्छ ।

यदि यस्तो भेलाले व्यक्ति र गुटभन्दा माथि उठेर नीति, संगठन र भविष्यको कांग्रेसबारे बहस गर्न सक्छ भने त्यसको सकारात्मक राजनीतिक अर्थ हुन्छ ।

५) तपाईं लामो समयदेखि संगठन निर्माण र राजनीतिक गतिविधिमा संलग्न हुनुहुन्छ । हिजोको राजनीतिक परिवेश र आजको परिवेशमा तपाईंले के फरक पाउनुभएको छ ?

👉️ हिजो संगठन निर्माण गर्दा राजनीतिक अधिकार, व्यवस्था परिवर्तन र लोकतान्त्रिक संघर्ष मुख्य विषय थिए । ०७ साल, ०४६ साल र ०६२/०६३ सालका आ–-आफ्ना ऐतिहासिक मुद्दा थिए ।

आज परिस्थिति धेरै फरक छ । आजको पुस्ताको मुख्य प्रश्न रोजगारी कहाँ छ ? अवसर कहाँ छ ? सुशासन कहिले आउँछ ? उत्पादन कसरी बढ्छ ? जीवनस्तर कहिले सुध्रिन्छ ? भन्ने हो । त्यसैले हिजोको संगठन निर्माणको शैलीलाई जस्ताको तस्तै आज प्रयोग गरेर पुग्दैन । मुद्दा बदलिएको छ भने राजनीति र संगठनको कार्यशैली पनि बदलिनुपर्छ ।

६) हिजोको संगठन निर्माणमा योगदान गरेका नेता-कार्यकर्ताको अनुभव र योगदानलाई तपाईं कसरी हेर्नुहुन्छ ?

👉️ विगतको योगदान, योग्यता, अनुभव र क्षमता अत्यन्त महत्वपूर्ण छन् । ती संगठनका सम्पत्ति हुन् र त्यसको सम्मान हुनुपर्छ ।
तर विगतको योगदान सम्मानको आधार हुन सक्छ, भविष्यको नेतृत्वको एकमात्र आधार हुन सक्दैन ।

आजको नेतृत्वका लागि विगतको अनुभवसँगै नयाँ ज्ञान, प्रविधि, नयाँ सोच, समयअनुकूल कार्यशैली र परिणाम दिने क्षमता पनि आवश्यक हुन्छ ।

७) पार्टीभित्र जिम्मेवारी र नेतृत्व निर्धारण गर्दा विगतको योगदानलाई प्राथमिकता दिने कि वर्तमानको क्षमता र भविष्यमा परिणाम दिन सक्ने सामर्थ्यलाई पनि हेर्नुपर्छ ?

👉️ दुवैलाई सन्तुलित रूपमा हेर्नुपर्छ । विगतको योगदानको सम्मान हुनुपर्छ, तर संगठनको भविष्य निर्माण गर्न वर्तमानको क्षमता, नयाँ सोच, समयअनुकूल ज्ञान र परिणाम दिने सामर्थ्य पनि उत्तिकै आवश्यक हुन्छ ।

सरल भाषामा भन्दा, विगतको योगदानले सम्मान दिलाउँछ, तर भविष्यको जिम्मेवारीका लागि वर्तमानको क्षमता पनि प्रमाणित गर्नुपर्छ ।

८) त्यसो भए आजको संगठनलाई बलियो बनाउन नेता र कार्यकर्तामा कस्तो परिवर्तन आवश्यक छ ?

👉️ समयअनुसार नेता र कार्यकर्ता पनि अपडेट्ड् र अपग्रेडेड हुनुपर्छ । हिजोको अनुभव बोकेर आज काम गर्न सकिन्छ, तर हिजोकै सोच र शैली बोकेर भविष्य निर्माण गर्न सकिँदैन ।

अब संगठनलाई नयाँ पुस्ता, नयाँ प्रविधि, नयाँ सोच, नयाँ सीप र परिणाममुखी कार्यशैलीसँग जोड्नुपर्छ ।

संगठनको मूल्यांकन पनि अब केवल कति मानिस जम्मा भए भन्ने आधारमा होइन, कति मानिस सक्षम भए, कति सक्रिय भए र कति परिणाम दिन सके भन्ने आधारमा हुनुपर्छ ।

९) आजको सन्दर्भमा कार्यकर्ता र मतदाताबीचको सम्बन्धलाई तपाईं कसरी हेर्नुहुन्छ ?

👉️ मेरो विचारमा अब ‘आत्मनिर्भर कार्यकर्ता र प्रतिबद्ध मतदाता’ आवश्यक छ । कार्यकर्ता सधैं पद, अवसर वा नेताको आश्रयमा निर्भर भएर बस्ने होइन । आफ्नो सिप, ज्ञान, क्षमता, रोजगारी र उद्यमबाट आत्मनिर्भर बन्नुपर्छ ।

त्यस्तै मतदाता पनि चुनावका बेला मात्र सम्झिने व्यक्ति होइन । विचार, उद्देश्य, नेतृत्व र कामप्रति विश्वास गरेर जोडिएको प्रतिबद्ध समर्थक हुनुपर्छ । यसले राजनीतिलाई आश्रित कार्यकर्ता र चुनावी मतदाताको सम्बन्धबाट साझा विचार, उद्देश्य र समृद्धिको सहयात्रा तर्फ लैजान्छ ।

१०) आजको युगमा संगठनको शक्ति सदस्यताको संख्याले मापन गर्ने कि सदस्यहरूको प्रतिबद्धता र सक्रियताले ?

👉️ धेरै कार्यकर्ता हुनु मात्रै संगठनको शक्ति होइन । आजको समयमा विचार, उद्देश्य र नेतृत्वप्रति प्रतिबद्ध समर्थक बढी महत्वपूर्ण हुन्छन् ।

संख्या महत्वपूर्ण छ, तर संख्याभन्दा ठूलो कुरा विश्वास, प्रतिबद्धता, सक्रियता र परिणाम हो । त्यसैले अब संगठनलाई संख्या केन्द्रितभन्दा विश्वास, प्रतिबद्धता र परिणाम केन्द्रित बनाउनुपर्छ ।

११) राजनीतिले अब नागरिकको दैनिक जीवन र आर्थिक अवस्थासँग कस्तो सम्बन्ध बनाउनुपर्छ ?

👉️ राजनीति केवल चुनाव, भाषण र सत्ता प्राप्तिको माध्यममा सीमित हुनुहुँदैन । राजनीतिले नागरिकको रोजगारी, उद्यम, उत्पादन, आय र आत्मनिर्भरतासँग प्रत्यक्ष सम्बन्ध बनाउनुपर्छ ।

राजनीतिक दलले मानिसलाई केवल कार्यकर्ता बनाउने होइन, सीप, ज्ञान, स्रोत-साधन, पुँजी र अवसरसँग जोडेर आत्मनिर्भर बनाउने वातावरण निर्माण गर्नुपर्छ । आत्मनिर्भर नागरिक नै बलियो समाज र बलियो राष्ट्रको आधार हो ।

१२) राजनीतिलाई रोजगारी र उद्यमसँग कसरी जोड्न सकिन्छ ? बेरोजगारी पूर्ण रूपमा हटाउन सम्भव छ ?

👉️ बेरोजगारीलाई एकैपटक पूर्ण रूपमा हटाउने दाबी गर्नु व्यावहारिक हुँदैन । तर बेरोजगारी घटाउन सकिन्छ, रोजगारीका अवसर विस्तार गर्न सकिन्छ र नागरिकलाई रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्न सक्ने बनाउने वातावरण बनाउन सकिन्छ । यसका लागि राजनीतिले सरकार सबैलाई जागिर दिने सोचबाट बाहिर निस्कनुपर्छ ।

मेरो विचारमा यसको एउटा व्यावहारिक आधार सार्वजनिक, निजी र समुदाय साझेदारी मोडेल हुन सक्छ ।

सरकारले नीति, पूर्वाधार, सहजीकरण र नियमन गर्ने, निजी क्षेत्रले पुँजी, प्रविधि, व्यवस्थापन र बजार ल्याउने र समुदाय तथा नागरिकले श्रम, सिप, स्थानीय स्रोत र लगानी मार्फत सहभागिता जनाउने ।

यसरी सरकार एक्लैले रोजगारी सिर्जना गर्ने होइन, सरकार, निजी क्षेत्र र समुदाय मिलेर रोजगारी र उद्यमका अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्छ ।

१३) तपाईंले आत्मनिर्भर कार्यकर्ताको कुरा गर्नुभयो । कार्यकर्तालाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ ?

👉️ कार्यकर्तालाई केवल राजनीतिक गतिविधिमा व्यस्त राखेर आत्मनिर्भर बनाउन सकिँदैन । उसलाई सिप, ज्ञान, उद्यम, पूँजी, प्रविधि र बजारसँग जोड्नुपर्छ ।

कुनै कार्यकर्ता कृषि गर्न चाहन्छ भने उत्पादन र बजारसँग जोड्ने, उद्यम गर्न चाहन्छ भने परियोजना निर्माण, वित्तीय व्यवस्थापन र लगानीसँग जोड्ने, सिप सिक्न चाहन्छ भने तालिम र रोजगारीसँग जोड्ने व्यवस्था हुनुपर्छ ।

यसका लागि राजनीतिक संगठन आफैंले सबै व्यवसाय चलाउने होइन; सरकार, निजी क्षेत्र, वित्तीय संस्था, समुदाय र विज्ञहरूसँग सहकार्य गरेर अवसरको संयोजन गर्ने भूमिका खेल्न सक्छ ।

मेरो बुझाइमा अबको कार्यकर्ता पार्टीमा आश्रित होइन, पार्टीसँग जोडिएर अझ सक्षम र आत्मनिर्भर बन्ने हुनुपर्छ ।

१४) चुनाव जित्नु र जनताबीच दीर्घकालीन रूपमा स्थापित हुनुबीच कस्तो फरक हुन्छ ?

👉️ यसलाई म जनमत र जनविश्वासको फरकका रूपमा हेर्छु । चुनावमा प्राप्त मत जनमत हो । तर निरन्तर काम, व्यवहार, इमानदारी र परिणामबाट निर्माण हुने भरोसा जनविश्वास हो । जनमत चुनाव जित्न पर्याप्त हुन सक्छ, तर जनविश्वास जित्न काम गरेर प्रमाणित गर्नुपर्छ । लोकप्रिय कामले जनमत प्राप्त गर्न सकिएला, तर लोकहितको कामले मात्र दीर्घकालीन जनविश्वास निर्माण गर्छ ।

१५) आजको पुस्तासँग राजनीतिक दलले आफ्नो सम्बन्ध कसरी बनाउन सक्छन् ?

👉️ अब परम्परागत राजनीतिक कर्मकाण्ड, सभा-सम्मेलन, आरोप-प्रत्यारोप र आश्वासनको पुरानो शैलीले मात्र नयाँ पुस्ताको विश्वास जित्न सकिँदैन । जनताले अब भाषणभन्दा काम, नाराभन्दा परिणाम र आश्वासनभन्दा अवसर खोजिरहेका छन् ।

त्यसैले राजनीतिक दल जनताको दैनिक जीवनमा देखिने परिणामसँग जोडिनुपर्छ । युवालाई केवल राजनीतिक कार्यक्रममा बोलाउने होइन, सिप, रोजगारी, उद्यम, प्रविधि र अवसरसँग जोड्ने राजनीति गर्नुपर्छ ।

१६) नेपालको राजनीतिक इतिहासका ठूला परिवर्तनहरूलाई हेर्दा आजको राजनीतिको मुख्य मुद्दा के हुनुपर्छ ?

👉️ ०७ सालको मुद्दा फरक थियो, ०४६ सालको मुद्दा फरक थियो, ०६२/०६३ सालको मुद्दा पनि फरक थियो । ती समयका राजनीतिक परिवर्तन आवश्यक थिए । तर आजको मुख्य प्रश्न व्यवस्था कस्तो बनाउने ? भन्दा पनि व्यवस्था र राजनीतिले नागरिकको जीवन कति बदल्यो ? भन्ने हो ।

त्यसैले आजको राजनीतिको मुख्य मुद्दा रोजगारी, उत्पादन, सुशासन, अवसर, आत्मनिर्भरता र समृद्धि हुनुपर्छ ।

१७) अब राजनीतिक दलले नागरिकलाई समृद्ध बनाउने दिशामा आफ्नो भूमिका कसरी परिवर्तन गर्नुपर्छ ?

👉️ राजनीतिक दलको भूमिका सरकार बनाउने र चुनाव जित्ने कुरामा मात्र सीमित हुनुहुँदैन । राजनीतिक दलले नीति बनाउने, अवसर सिर्जना गर्ने, स्रोत परिचालन गर्ने र सरकार, निजी क्षेत्र तथा समुदायबीच सहकार्यको वातावरण बनाउने भूमिका खेल्नुपर्छ ।

हामीले नागरिकलाई सहयोगको प्रतीक्षामा बस्ने होइन, आफ्नै क्षमता र अवसरबाट उभिन सक्ने बनाउने सोच विकास गर्नुपर्छ ।
त्यसैले राजनीति अब “मलाई के मिल्छ ?” भन्ने संस्कारबाट “हामी मिलेर के बनाउन सक्छौँ ?” भन्ने संस्कारतर्फ जानुपर्छ ।

१८) तपाईंको विचारमा कांग्रेसलाई अब जनतासँग पुनः बलियो रूपमा जोड्न र समग्र राजनीतिलाई नयाँ दिशा दिन के गर्नुपर्छ ?

👉️ मेरो विचारमा अबको राजनीति विगतको योगदानको सम्मान, वर्तमानको यथार्थको स्वीकार र भविष्यको तयारीमा आधारित हुनुपर्छ ।

नेता र कार्यकर्ता समयअनुकूल updated र upgraded हुनुपर्छ । धेरै कार्यकर्ता मात्र होइन, आत्मनिर्भर कार्यकर्ता र प्रतिबद्ध समर्थक चाहिन्छ । केवल जनमत होइन, जनविश्वास चाहिन्छ । केवल राजनीतिक कर्मकाण्ड होइन, काम र परिणाम चाहिन्छ ।

रोजगारीको समस्या एकैपटक पूर्ण रूपमा समाधान हुन्छ भनेर नारा दिने होइन, बेरोजगारी क्रमशः घटाउने, उद्यम बढाउने र रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्ने नीति चाहिन्छ । त्यसका लागि सरकार, निजी क्षेत्र र समुदायबीचको PPCP जस्तो सहकार्यात्मक मोडेललाई व्यवहारमा ल्याउन सकिन्छ । अन्ततः राजनीति केवल सत्ता प्राप्तिको माध्यम होइन, नागरिकलाई सक्षम, आत्मनिर्भर र समृद्ध बनाउने माध्यम बन्नुपर्छ ।

मेरो विचारमा अबको कांग्रेसले आफ्नो ऐतिहासिक विरासतलाई सम्मान गर्दै नयाँ सोच, नयाँ पुस्ता, नयाँ प्रविधि, नयाँ कार्यशैली र नयाँ परिणामसहित आफूलाई रूपान्तरण गर्न सक्नुपर्छ ।

किनकि अब संगठनको सफलता कति मानिस जम्मा गर्न सकियो भन्नेले होइन, कति मानिसलाई सक्षम, आत्मनिर्भर र समृद्ध बनाउन सकियो भन्नेले मापन हुनुपर्छ ।

Published : Saturday, 2026 August 15, 1:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया