शेरबहादुर देउवाद्वारा राष्ट्रिय भेलामा दिइएको लिखित मन्तव्य
नेपाली कांग्रेस, राष्ट्रिय भेलाका सभापतिज्यू, देशभरिबाट भेलामा पाल्नुभएका प्रतिनिधि साथीहरू, संचारकर्मी मित्रहरू एवं दाजुभाई तथा दिदीबहिनीहरू, सर्व प्रथम भेलामा सहभागी हुन देशभरबाट आउनु भएका सम्पूर्ण साथीहरूमा हार्दिक स्वागत एवं जय नेपाल !
विगत केही समयदेखि म परिवारसहित स्वास्थ्य उपचारका लागि विदेशमा भएको कुरा तपाईहरूलाई थाहा नै छ । उपचारपछि हिजो साउन २८ गते मात्र म स्वदेश फर्किएको हुँ । मेरो स्वागतमा हिजो विमानस्थलमा उपस्थित हुनु भएका तपाईहरू लगायत सबैमा यसै भेलामार्फत हो ।
हामीले हाम्रो इतिहास विर्सिने हो भने हाम्रो गन्तव्य सहि नहुन सक्छ । इतिहासबाट पाठ सिकेर नै गन्यव्य तय गर्न सके मात्रै सहि बाटो पहिल्याउन सकिन्छ । विगतका ती कठिन राजनीतिक परिवर्तनका कथाहरू समाजले नपढ्ने हो भने हाम्रा पुर्खाहरूको योगदानको अवमूल्यन हुन्छ । म यो भेलामार्फत तपाईहरू सबैलाई नेपालको राजनीतिक इतिहासका कथाहरू टोलटोलमा नयाँ पुस्तासँग पु¥याउन अनुरोध पनि गर्न चाहान्छु ।
विगतमा केही पनि भएको थिएन, जे जे भयो सबै खराव भयो भन्ने भाष्य समाजमा फैलाउने हो भने क्षणिक नाफा त कसैलाई होला तर, मुलुक झन् झन् कमजोर हुँदै जान्छ । मुलुकले विगतका इतिहासमा गर्व गर्नु पर्छ । त्यो वातावरण बनाउने काम अब नेपाली कांग्रेसका नेपाली कांग्रेसले विगतमा के ग¥यो भन्ने प्रश्नको जवाफ खोज्न २००७ सालअघिको राणाकालिन अवस्था, त्यो बेलाको गरिवी र निरंकुता, २०१७ सालपछिको निरंकुश निर्दलीय पञ्चायती व्यवस्था र त्यो बेला नेपाली कांग्रेस र जनअधिकारका पक्षमा लाग्दा नागरिकले भोग्नु परेको समस्या बुझन आवश्यक छ ।
हाम्रा अग्रजहरूले ज्यानको आहुति दिएर, वलिदानीपूर्ण सघर्ष गरेर, अनेक दुःख, कष्ट र सघर्ष भोगेर, मुलुक अहिलेको अवस्थामा आएको आम नेता तथा कार्यकर्ताहरूको काधमा आएको छ । २००७ सालको निरंकुश राणा शासन नेपाली कांग्रेसको नेतृत्वमा अन्त्य भएको हो, २०४६ सालको प्रजातन्त्र वहालीको आन्दोलन पनि नेपाली कांग्रेसको नेतृत्वमा सफल भएको हो । २०६२/०६३ को जनआन्दोलन नेपाली कांग्रेसको नेतृत्वमा सफल भएको हो, २०७२ सालमा नयाँ संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको हो ।
यिनै परिवर्तनले अहिलेको स्वतन्त्रता, खुला समाज, लोकतन्त्र र प्रेस स्वतन्त्रता प्राप्त भएको हो ।
त्यसैले अहिलेसम्म जे जती राजनीतिक परिवर्तन भएका छन् त्यसको नेतृत्व नेपाली कांग्रेसले गरेको छ, त्यसमा मलाई गर्व छ । यी परिवर्तनमा अन्य राजनीतिक दलहरूको महत्वपूर्ण भूमिकालाई पनि म सम्मान गर्न चाहान्छु । हरेक राजनीतिक परिवर्तनहरूमा राजनीतिक दलहरूबीच एकता भएका छन्, त्यो नेपालको मौलिक राजनीतिक संस्कार पनि हो ।
त्यसैले विगत खराब थियो भन्ने गलत भाष्य समाजमा जवरजस्त फैलाउन थालिएको छ त्यसलाई चिर्न तपाईहरूले राजनीतिक परिवर्तनका हरेक मोडमा कांग्रेसको भूमिकालाई गर्वका साथ समाजमा छलफल र वहस गर्नु पर्ने समय आएको छ ।
अहिले लामो इतिहास बोकेको नेपाली कांग्रेसभित्र पनि चरम विवाद सृजना गरिएको छ । विषेश महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि, विधान र पद्धति मिच्ने काम भएको छ । यो विषय अहिले सम्मानित सर्वोच्च अदालतबाट पुनरावलोकनको अवस्थामा रहेकाले यसमा थप टिप्पणी गर्न चाहन्न । तर, सर्वोच्च अदालतबाट हामीलाई न्याय हुनेछ भन्नेमा म विश्वस्त छु ।
नेपाली कांग्रेसभित्र भावनात्मक रुपमै एकता र मेलमिलाप अत्यावश्य छभन्ने कुरामा म स्पष्ट छु । नेपाली कांग्रेस २००७ सालमा संघर्ष गरेकादेखि अहिलेको युवा पुस्तासम्म चार पुस्ता सदस्य रहेको पार्टी हो । यो पार्टीमा विवाद हुँदा समग्र मलुकको राष्ट्रियता र लोकतन्त्र कमजोर हुने खतरा हुन्छ । धेरै कठिन र चरम विवादहरूमा समेत सहमति र सहकार्यबाट मिलाप गराएको अनुभव हामीसँग छ । त्यसैले पार्टीभित्र अहिले देखिएको असहमतिलाई सबै साथीहरूको न्याय हुने, सबैको भावनाको कदर हुनेगरी बृहत्तर एकतामा बदल्नु पर्छ । त्यसमा कोही पनि व्यक्ति केन्द्रित हुनु हुँदैन । कांग्रेसको हितलाई नै एकताको आधार बनाउनु पर्छ । म आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई पार्टी एकताको पक्षमा दृढ हुन पनि आहवान गर्न चाहान्छु ।
हामी पार्टीका एउटै परिवारका सदस्य हौं । व्यक्तिगत आग्रह पूर्वाग्रहभन्दा माथि उठेर पार्टी, लोकतन्त्र र राष्ट्रहीतलाई सर्वोपरि ठानौँ ।
मुलुक अहिले राजनीतिक, आर्थिक/सामाजिक तथा धार्मिक/सांस्कृतिक रुपले कठिन परिस्थितीबाट गुज्रीरहेको छ । नेपालको पहिल्यैदेखि चल्दै आएको साझा साँस्कृतिक पहिचान, धार्मिक स्वतन्त्रता र सहिष्णुतालाई संरक्षण र संवर्द्धन गर्नु पर्नेछ । त्यसका लागि वर्तमान संविधानको आजसम्मको अभ्यासमा देखिएका केही समस्या र त्यसको कार्यन्वयनमा देखिएका कठिनाईका अनुभवका आधारमा म बृहत्तर राष्ट्रिय सहमति खोजी संविधानप्रदत्त प्रक्रिया र व्यवस्थाका आधारमा निकास दिन पहल गर्नेछु ।
राष्ट्रिय एवं लोकतन्त्रिक शक्तिहरूबीच बृहत संवाद गरी राष्ट्रिय सहमतिका साथ अघि बढ्न म दृढ संकल्पित छु ।
मुलुकको यो विषम परिस्थितीमा राष्ट्रियता, लोकतन्त्र र जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु । साझा उद्देश्य र संकल्प भएका सबै राष्ट्रिय राजनैतिक शक्ति र व्यक्तिसँग सहकार्यको ढोका खुल्ला रहनुपर्छ भन्ने मेरो विश्वास छ ।
आज महामानव वीपी कोइरालाले देखाउनु भएको राष्ट्रिय एकता र मेलमिलापको मार्ग अझ बढी सान्दर्भिक भएको छ । संकटका समयमा संवाद, सहमति र सहकार्य नै हाम्रो राजनीतिक संस्कार बन्नु पर्दछ ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चता मेरो जीवनका मूल आर्दश हुन् । यी मूल्य मान्यताप्रति म जीवनको अन्तिम क्षणसम्म अटल रहने छु ।
अव हामीले व्यक्तिगत मतभेद भन्दा पार्टीको सम्पूर्ण एकता, राष्ट्रहित र दीर्घकालीन लोकतान्त्रिक यात्रालाई प्राथमिकता दिनुपर्दछ ।
हार्दिक आभार व्यक्त गर्न चाहान्छु । अहिले मुलुकको राजनैतिक अवस्था अत्यन्त संवेदनशील देखिएको छ । यो संवेदनशील अवस्थामा नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूले बढो सजग भएर राष्ट्रिय एकता कायम गर्न र लोकतन्त्रलाई सुदृढ गर्न भूमिका खेल्नु पर्ने हुन्छ ।
समाजमा अहिले पनि निराश देखिएको छ । उनीहरूको निराश आशामा बदल्नु पर्नेछ । यो दायित्व पनि सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टीको नाताले नेपाली कांग्रेसलेनै लिनु पर्छ ।
यतिवेला नेपालका विभिन्न भू–भागमा भारी वर्षका कारण बाढी पहिरो र डुवान भइरहेको छ । उक्त विपत्तीबाट केहीको ज्यान समेत गएको छ । धेरै घर परिवार र व्यक्तिहरू प्रभावित भएर दयनीय अवस्थामा जीवन गुजारा गरिरहेका छन् । बाढि र पहिरोमा ज्यान गुमाउनेहरूप्रति
हार्दिक श्रदाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु ।
साथै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछु । बाढि पहिरोका कारण समस्यामा परेकाहरूको तत्काल उद्धार, राहत र उचित पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दै विपद् प्रभावित क्षेत्रमा हाम्रो पार्टीको स्थानीय सम्बन्धित तहवाट पहिले झैं उनीहरूको सेवामा जुट्न सबै साथीहरूलाई हार्दिक अपील गर्दछु ।
अन्ततः यो राष्ट्रिय भेलाले नेपाली कांगेसभित्र विश्वासको वातावरण निर्माण होस्, संवाद, सहकार्य बढोस र पार्टीफेरि एकतावद्ध भएर मुलुकको लोकतान्त्रिक पद्दतिको रक्षा गर्दै समृद्धीको यात्राको सफल नेतृत्व गर्न सकोस भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यबाद । जय नेपाल ।
शेरबहादुर देउवा
२०८३ साउन २९ गते







बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया