जन्मभूमि रोजे उपेन्द्र यादवले, सप्तरी २ बाट उम्मेदवारी दर्ता

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यका लागि सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनको लागि यादवले दलबलसहित बिहीबार निर्वाचन आयोगको कार्यालय सप्तरी पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

जन्मभूमि समेत रहेको सप्तरीबाट फोरम नेपालका अध्यक्ष यादवले पहिलो पटक प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका हुन् । यसअघि उनले सुनसरीबाट सभाषद् पदमा निर्वाचित भएका थिए ।

निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गराउँदै अध्यक्ष यादवले जन्मभूमिप्रतिको मायाले गर्दा सप्तरीबाट उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन् ।

संघीय समाजवादी फोरम नेपाल सप्तरीको ब्यानरमा नेता कार्यकर्ता र समर्थकसहित दिउँसो दुई बजे उम्मेदवारी मनोनयन दर्ताका लागि यादव निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

फोरम नेपालका अध्यक्ष यादवलाई सप्तरीमा राष्ट्रिय जनता पार्टीले समर्थन गरेको छ ।

Published : Thursday, 2017 November 2, 9:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया