एनआरएनए सम्मेलनमा मोष्ट वान्टेडहरू, पक्राउ गर्न खटियो प्रहरी

काठमाडौं, २९ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलनमा मोस्ट वान्टेड, ठग र लागूऔषध कारोबारमा मुछिएका अनुहारहरू भेटिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार मात्र एनआरएनएको आठौं विश्व सम्मेलनमा सहभागी हुन जापानबाट आएका एनआरएनएको आइसीसी सदस्य अनुज थापालाई ७ करोड रुपैयाँ ठगी अभियोगमा पक्राउ गरी हिरासतमा लिएको छ ।

काठमाडौं प्रहरीले पनि मोष्ट वान्टेडको सूचीमा रहेका एनआरएनएका प्रतिनिधिहरूलाई पक्राउ गर्न विशेष टोली नै खटाएको स्रोतले जनाएको छ । केही मोष्ट वान्टेडहरू राजनीतिक दवावमा सम्मेलनमा सहभागिता जनाएको खुलासा भएको छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर सोझा–सिधा युवतीह–लाई मकाउमा बोलाई अलपत्र पार्ने तथा युवती बेच्ने धन्दामा सक्रिय सुदर्शन थापा मगर पनि कांग्रेस नेताहरूको सेटिङमा सम्मेलनमा सहभागी भएका हुन् ।

सुदर्शन थापामगर र हङकङमा बस्ने कर्मा गुरुङले पत्रकार ॠषि धमलासँग फोटो समेत खिचाएर सामाजिक सञ्जालमा सेयर गरेका छन् । हङकङमा बसेर लागूऔषध कारोबारमा संलग्न रहेको आरोप लागेका कर्मामाथि केही समयअघि पाकिस्तानी गिरोहसँग झगडा भएको थियो ।

झडपमा कर्माको खुट्टामा गम्भीर चोट लागेपछि दुई महिना बैँककमा उपचार गरी फर्किएका थिए । हङकङ एनआरएनएमा आबद्द कर्माको सेटिङमा पाकिस्तानी नागरिक वाहिद खान, चाचा भन्ने अब्दुल रजाक र उनका भाइले हङकङबाट ड्रग्स सिन्डिकेट अपरेट गर्ने र नेपालमा गिरोह खटाइ चरेसको कारोबार गरिरहेको प्रहरी स्रोतको भनाइ छ ।

दुई वर्ष अघि लागूऔषध नियन्त्रण व्युरोले पाकिस्तानी समूहले कोकिनका लागि नेपाली नागरिक दिलबहादुर गुरुङलाई एकलाख हङकङ डलर र चरेससहित पक्राउ गरेको काण्डमा समेत कर्मा मछिएका छन् ।

तर, उनी हङकङमा बस्ने हुँदा प्रहरीले पक्राउ गर्न सकेको छैन । महानगरीय अपराध महाशाखाले वारेन्ट जारी गरेका सुदर्शन थापा मगर एनआरएन मकाउका पूर्वअध्यक्ष पनि हुन् ।

वैदेशिक रोजगारीको शिलशिलामा सांस्कृतिक कार्यक्रम भन्दै पर्यटक भिसामा गएकी स्याङ्जाकी सञ्जु थापालाई महिनाको ५ हजार डलर तलब हुने प्रलोभ देखाएर सुदर्शनको गिरोहले मकाउ पुगाएको थियो ।

सञ्जुलाई चिनियाँ व्यक्तिको घरमा बेचिएको खबर बाहिर आएपछि अपराध महाशाखाका तत्कालीन प्रमुख (हालका डिआईजी) सर्वेन्द्र खनालले मकाउमा रहेको नेपाली र संघसंस्थासँग समन्वय गरी उद्धार गरेका थिए ।

सञ्जु थापालाई अपराध महाशाखा र एनआरएनको सहयोगमा उद्दार गरिएपछि सुदर्शनको असली धन्दा खुलेको थियो । सञ्जुलाई उद्धार गरेको पर्सिपल्ट जब प्रहरीले काठमाडौंको नयाँ बानेश्वरमा रहेको कम्पास रिक्रुइमेन्ट प्रालिका सञ्चालक सुवास थापामगरलाई पक्राउ गर्‍यो त्यसपछि यो प्रकरणमा मुछिए सुदर्शन थापा मगर ।

काठमाडौं जिल्ला अदालतमा मकाउ पठाउने म्यानपावर कम्पनीका मालिक सुवास थापामगर मकाउमा यौनहिंसा गर्ने सुवासका बाबु सुदर्शन थापा मगर र मकाउमा चिनियाँलाई बेच्ने दलाल लोकराज बरालविरुद्ध सञ्जुले मुद्दा समेत दर्ता गराएकी थिइन् ।

उनीहरूमाथि प्रहरीले मानव वेचविखन तथा ओसारपसारको मुद्दा चलाएको छ । सुदर्शनले जिल्ला र उच्च अदालतबाट समेत मुद्दा हारिसक्दा समेत अपराध महाशाखाले पक्राउ नगरेको भन्दै पीडित सञ्जुका परिवारले आक्रोश पोख्दै आएका छन् ।

Published : Sunday, 2017 October 15, 9:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया