१८ किलो सुन तस्करीका भरियाको हत्या, युवतीको प्रयोग

काठमाडौं । चीनबाट तस्करी गरेर ल्याएको १८ किलो सुनकाण्डमा गगन लामाको हत्या भएको खुलासा भएको छ । हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

चिनियाँ नागरिक वोईसँग मिलेर गगनसहितको समूहले रसुवाबाट १८ किलो सुन तस्करी गरेका थिए । १८ किलो सुनमध्ये गगन लामाले ६ किलो सुन लुटपाट भएको भन्दै नदिएपछि युवती प्रयोग गरेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।

रसुवा जिल्ला पार्वतीकुण्ड गाउँपालिका – ३ घर भएका २९ वर्षीय गगन लामालाई असोज १४ गते धारिलो हतियार प्रहार गरी काठमाडौंको नागार्जुन नगरपालिका – ३ आदेश्वर मन्दिर नजिकै रहेको ढुंगाखानीमा ल्याई फालेको अवस्थामा शव फेला परेको थियो ।

गगन लामाको हत्या अभियोगमा प्रहरीले लाक्पा ग्याल्जेन, छिरिङ तामाङ, सबिना तामाङ, प्रकाश शाक्य र लाक्पा तामाङलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको अपराध महाशाखा टेकुद्वारा विज्ञप्तिमा उल्लेख छ ।

यसरी भएको थियो घटना

घटनाको अनुसन्धान गर्दा लाक्पा ग्याल्जेनको चाईनिज नागरिक वोई र तेञ्जिङसँग व्यापारको क्रममा चिनजान भई गत असार महिनाको पहिलो हप्तातिर उनीहरूबीच अवैध सुनको कारोबार गर्ने सल्लाह भएको थियो । चाईनिज नागरिक वोई समेतले १८ किलो सुन चाईनाबाट केरुङसम्म ल्याई भन्सार छली काठमाडौंसम्म ल्याउनको लागि सुन लाक्पा ग्याल्जेनले जिम्मा लिएका थिए । सुन कीर्ति भन्ने छिरिङ तामाङमार्फत गगन लामा समेतको जिम्मा लगाई गगन लामा समेतले सुन लिई गणेश हिमालको फेदीबाट रसुवाको स्याफ्रुबेसी हुँदै आएकोमा गगन लामा समेतले उक्त सुन लुटियो भन्ने बहाना बनाई १२ किलो सुन फिर्ता दिएका थिए । बाँकी ६ किलो सुन लिई भागेपछि लाक्पा ग्याल्जेन र छिरिङ तामाङ समेतले गगन लामाको खोजी गर्दै आएका थिए ।

हत्यामा गुवतीको प्रयोग

गगन लामाको सविना थोकर तामाङसँग फोन सम्पर्क हुने गरेको कुरा छिरिङ तामाङ समेतले थाहा पाएपछि हत्याको योजना बन्यो । लाक्पा ग्याल्जेनले सविना थोकरलाई आर्थिक प्रलोभनमा पारी असोज १४ गते दिउँसो सविना थोकरले गगन लामालाई फोन गरी काठमाडौंको बनस्थली नजिक बोलाई लाक्पा ग्याल्जेन, प्रकाश शाक्य, छिरिङ तामाङ, लाक्पा तामाङ समेतका व्यक्तिहरूले गगन चढी आएको मोटरसाईकल कब्जामा लिई नागार्जुन नगरपालिका – ५ आदेश्वर चिहानडाँडामा पुर्‍याई धारिलो हतियार चक्कु प्रहार गरेर हत्या गरेका थिए । गगन लामा भाग्दै आदेश्वर ढुंगाखानीमा पुर्‍याई हत्या गरेर उनको मोटरसाईकल समेत सोही ठाउँमा राखेर पाँच जनाको समूह फरार भएको थियो ।

घटनामा संलग्न

१. नामः लाक्पा ग्याल्जेन
उमेरः ४८ वर्ष
ठेगानाः रसुवा जिल्ला थुमन गोसाईकुण्ड गाउँपालिका – १

२. नामः कीर्ति भन्ने छिरिङ तामाङ (ग्याल्जेनको फुपुको छोरा)
उमेरः ३२ वर्ष
ठेगानाः रसुवा जिल्ला पार्वतीकुण्ड गाउँपालिका – ३

३. नामः सविना थोकर (तामाङ )
उमेरः १६ वर्ष
ठेगानाः रसुवा जिल्ला, तत्कालीन डाँडागाउँ गा.वि.स.– ८

४. नामः प्रकाश शाक्य
उमेरः १६ वर्ष
ठेगानाः सिन्धुपाल्चोक जिल्ला, भोटेकोशी गाउँपालिका

५. नामः लाक्पा तामाङ
उमेरः ३६ वर्ष
ठेगानाः रसुवा जिल्ला, पार्वतीकुण्ड गाउँपालिका– ३

Published : Friday, 2017 October 13, 10:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया