निर्माण व्यवसायी महासंघका अध्यक्षको हत्या

काठमाडौं । अपरिचित समूहको गोली प्रहारबाट गम्भीर घाइते निर्माण व्यवसायी महासंघका अध्यक्ष शरतकुमार गौचनको मृत्यु भएको छ ।

बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर प्राडोमा चढी अध्यक्ष गौचन गन्तब्यतर्फ जाँदै थिए । गाडी उनका ड्राइभरले चलाएका थिए । गौचन ड्राइभर नजिकै अगाडि सिटमा बसेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शी लेखनाथ शर्माका अनुसार नयाँ बानेश्वरको खरिबोटमा गाडी नजिक एक्कासि दुई जना आएर गोली प्रहार गरेका थिए । ड्राइभर बसेको ठाउँमा पहिले ढुंगा र त्यसपछि गौचन बसेको ठाउँमा गोली चलाए प्रत्यक्षदर्शीले बताए ।

अपरिचित समूहले हानेको पेस्तोलको गोली गाडीको शिशा छेडेर गाडीभित्र पसेर लागेको प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरी भनाइ छ ।

एउटा गोली गौचनको पेटमा लागेको छ । घाइते अवस्थामा गौचनलाई नयाँ बानेश्वर मिनभवनमा रहेको सिभिल अस्पताल लगिएको थियो । उनको दिउँसो करिव ३ बजेर २६ मिनेटमा मृत्यु भएको थियो ।

निर्माण व्यवसायी महासंघका प्रवक्ता विष्णु बुढाथोकीले अस्पतालले मृत घोषणा गरिसकेको पुष्टि गरेका थिए ।

प्रत्यक्षदर्शी शर्माका अनुसार गोली हान्नेहरू मोटरसाइकलमा आएका थिए । मोटरसाइकल रोकेर दुई तीन सय मिटर पैदल हिँडी उनीहरूले आक्रमण गरेका हुन् । आक्रमण गर्ने मध्ये एक जनाले गुलाबी रङ्गको टिसर्ट लगाएका थिए ।

गोली कसले हानेको भन्ने बारे केही पत्ता लागेको छैन । अहिले प्रहरीले काठमाडौं उपत्यकामा चेकिङ कडा गरेको छ ।

Published : Monday, 2017 October 9, 4:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया