खतरनाक अपराधी ‘पृथ्वी’ पक्राउ

काठमाडौं । काठमाडौं बत्तीसपुतलीको मिश्रीमाया श्रेष्ठ हत्याकाण्डका मुख्य नाइकेलाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ । पृथ्वी मल्ल भनिने प्रकाशसिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

२०६४ असार २१ गते बत्तीसपुतलीमा मेरी रोज भन्ने मिश्रीमाया श्रेष्ठको हत्या गरी फरार रहेका ठगुन्नालाई महानगरीय अपराध महाशाखाको बिषेश टोलीले पक्राउ गरेको हो ।

हेमन्त शम्शेर राणाको मुरारी भवनको रेखदेख गर्न बसेकी ७८ वर्षीया मेरी रोजलाई ठगुन्ना लगायतको समूहले हत्या गरेको थियो । हत्या गरी फरार रहेका ठगुन्नालाई महाशाखाका ईन्टलिजेन्स पिलरका प्रहरी निरीक्षक रोशन खड्काको कमान्डमा खटिएको टोलीले बुधवार कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट पक्राउ गरेको हो ।

मेरीरोज हत्याकाण्ड पश्चात तत्काल ठगुन्ना पक्राउ परे पनि तत्कालीन वौद्ध प्रहरीका प्रहरी जवानलाई प्रलोभनमा पारेर हिरासतबाटै फरार भएका थिए ।

‘पृथ्वी’ उपनामले चिनिएका ठगुन्नासहितको समूहले राणाको घरमा झ्यालको ग्रिल तोडीभित्र प्रवेश गरेर मिश्रीमाया श्रेष्ठको दुवै हात साडीले बाँधेर घाँटी थिचेर हत्या गरेको थियो । श्रेष्ठको हत्यापछि घरमा रहेका सुन तथा नगद लुटेर ठगुन्नाको समूह फरार भएको थियो ।

२०६४ असार २८ मा पक्राउ परेका ठगुन्नालाई हिरासतमा राखी अनुसन्धान चलिरहेका बेला ड्युटीमा रहेका प्रहरी जवान कृष्णकुमार श्रेष्ठलाई प्रलोभनमा पारी २०६४ साउन १७ गते राति ठगुन्ना र श्रेष्ठ भागेका थिए ।

ठगुन्नालाई भगाउन संलग्न प्रहरी जवान श्रेष्ठलाई सोही वर्ष साउन १९ मा पक्राउ गरी प्रहरी ऐन, २०१२ अन्तर्गत थुनुवा भगाएको मुद्दामा जिल्ला प्रहरीले कारबाही गरेको थियो ।

‘नेपाल डिफेन्स आर्मी’ नामक भूमिगत संगठनमा आबद्ध हुँदा ठगुन्नाले बलात्कार, हत्या प्रयास, बम विस्फोट, डकैती जस्ता अपराधमा संलग्न रहेका थिए ।

महाशाखाका अनुसार २०५७ सालमा नेपाली सेनामा प्रवेश गरेका ठगुन्नाले ललितपुरको भैंसेपाटीमा होटल सञ्चालन गरी बस्ने एकजना महिलालाई २०६१ असार १४ गते जबरजस्ती करणी गरेको मुद्दा तत्कालीन जिल्ला प्रहरी कार्यालय ललितपुरले चलाएको थियो । सो मुद्दामा उनी पक्राउ परी नख्खु कारागारबाट २०६४ वैशाख १३ मा रिहा भएका थिए ।

महाशाखाका अनुसार २०६४ जेठ २१ मा गौशालामा रहेको गल्फ कोर्समा शंकर अधिकारीलाई गोली हानेको, २०६४ असार १० मा अजिमा फेसन होम लाजिम्पाटका सञ्चालक सुरवीर श्रेष्ठलाई गोली हानेको घटनामा समेत ठगुन्ना संलग्न थिए ।

ठगुन्नाको ‘साँढे’ भन्ने कैलाशबहादुर सिहंको समूहसँग संलग्नता रहेको सूचनाका आधारमा महाशाखाले थप अनुसन्धान अघि बढाएको छ ।

Published : Friday, 2017 October 6, 9:19 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया