मकवानपुर प्रहरीद्वारा ‘मोष्ट वान्टेड’ पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ‘मोस्ट वान्टेड’ व्यक्तिलाई झण्डै आठ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ ।

हेटौँडामा आइतबार पत्रकार सम्मेलन गरेर प्रहरीले फरार अभियुक्त ‘कुमार’ भनिने सागर पाख्रिनलाई सार्वजनिक गरेको हो । गोली हानी व्यक्ति हत्या, हातहतियार, लागुऔषध गाँजा, आखेटो पहार ओसार पसार लगायतका अभियोग पाख्रिन विरुद्ध रहेका छन् । अपराध गरेर पाख्रिन लामो समयदेखि फरार थिए ।

३६ वर्षीय पाख्रिन कैलाश गाउँपालिका वडा नं. १० निवासी हुन् । लुकिछिपी बसेको अवस्थामा सुराकीका आधारमा काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ झ्याप्ले खोलाबाट भदौ २४ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख विकास खनालले जानकारी दिए । ‘काठमाडौं प्रहरीको सहयोगमा सागर पाख्रिनलाई पक्राउ गरिएको हो’, खनालले भने, ‘पाख्रिन लामो समयदेखि फरार रहेका थिए । अब मुद्दा चलाउँछौँ ।’

पाख्रिनले २०६७ फागुन ३ गते राति १० बजे मकवानपुरको तत्कालीन हाँडीखोला गाविस वडा नं. ७ मुलखोलास्थितमा बीरबहादुर थिंङकी श्रीमती ६२ वर्षीया ठूलीमाया थिंङलाई गोली हानी हत्या गरेका थिए । ठूलीमायाको हत्यापछि पाख्रिन फरार भएका थिए ।

प्रहरीले पाख्रिनलाई २०७३ वैशाख ३ गते कैलाश गाउँपालिका वडा नं. १० मा पक्राउ गर्न पुगेको थियो । तर, प्रहरी आएको सुइको पाएका पाख्रिन फरार भएका थिए ।

प्रहरीले पाख्रिनको घरमा खानतलासी गर्दा कटुवा पेस्तोल थान– २, गोली १ थान, भरुवा बन्दुक थान– १, बारुद २०० ग्राम, छर्रा ६५० ग्राम, लागूऔषध २० किलो, सालकको खपटा (अखेटो पहार) १ किलो बरामद गरिएको एसपी खनालले बताए ।

२०७२ मंसिर ११ गते तत्कालीन नामटार गाविस वडा नं. ६ को खेतबारीमा प्रहरीको खोजी सूचीमा रहेका पाख्रिनले अबैध रुपमा ४ कठ्ठा जग्गामा गाँजा खेती लगाएको पाइएको थियो । सो गाजा खेतीलाई प्रहरीले नष्ट गरिदिएको थियो ।

Published : Sunday, 2017 September 10, 5:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया