माथिल्लो कर्णालीका लागि लगानी जुटेन

काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धकले हालसम्म लगानी जुटाउन नसकेको भन्दै लगानी बोर्डमा म्याद थपका लागि आवेदन दिएको छ ।

भारतीय लगानीकर्ता ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)ले केही दिन पहिले म्याद थपका लागि आवेदन दिएको हो । परियोजना विकास सम्झौता (पिडिए) भएको तीन वर्ष बित्न लाग्दासमेत परियोजनाको प्रवद्र्धक जिएमआरले वित्तीय व्यवस्थापन गर्न सकेको छैन ।

आयोजनाको म्याद सकिन अब २५ दिन मात्रै बाँकी छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले म्याद थपका लागि प्रवर्द्धकको तर्फबाट आवेदन परेको र त्यसमाथि छलफल भइरहेको जानकारी दिनुभयो ।

आव २०७३/७४ मा सरकारले सो आयोजनाको म्याद एक वर्ष थप गरेको थियो । गत आवमा पनि प्रवद्र्धकले वित्तीय व्यवस्थापन गर्न नसकेको भन्दै आवेदन दिएको र सरकारले म्याद थप गरिदिएको थियो ।

प्रवर्द्धकले बंगलादेशलाई ४०० मेगावाट र भारतको हरियाणा राज्यलाई २०० मेगावाट विद्युत् बिक्रीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको बताउँदै आएको छ । भारतीय बैंक तथा वित्तीय संस्थासँग ऋण लिने विषयमा छलफल भए पनि विद्युत् बिक्री सम्झौता (पिपिए) नभएको भन्दै ठोस प्रगति हुन नसकेको बताइएको छ ।

समझदारीपत्र, बैंक तथा वित्तीय संस्थाले ऋण लगानीका लागि दिएको सहमतिपत्र समेत प्रवद्र्धकले बोर्डमा हालसम्म पेश गरेको छैन । परियोजना विकास सम्झौतामा उल्लेख भएको प्रावधानअनुसार दुई वर्षमा लगानी जुटाउनुपर्ने भए पनि नसकेपछि एक वर्ष थप गरिएको थियो । विकासकर्ताले तीन वर्षको अवधिमा वित्तीय व्यवस्थापन तथा निर्माण पूर्वको आवश्यक तयारी पूरा गर्नुपर्ने थियो ।

यही भदौ १६ गते ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग आयोजनाका प्रतिनिधिले छलफल समेत गरेका थिए । मन्त्री शाहीले तोकिएको समयमा काम नगरेका कारण आयोजनाको अनुमतिपत्र खारेज गर्ने आशयको सार्वजनिक वक्तव्य दिनुभएपछि आयोजना प्रतिनिधिले भेटवार्ता गरेका थिए ।

Published : Wednesday, 2017 September 6, 9:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया