८८ किलो सुनका मालिक फरार, प्रहरीलाई थपियो चुनौती

काठमाडौं । महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी रहेका छन् ।

महाशाखाले आज पत्रकारसम्मेलन गरी काठमाडौं महानगरपालिका–१७ मा पार्किङ गरेर राखेको अवस्थामा गाडीसहित अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले रसुवाको केरुङ नाका हुँदै उक्त सुन काठमाडौं भित्रिएको अनुसन्धानमा खुल्न आएको बताए ।

‘सुन कताबाट कता लैजान काठमाडौं ल्याइयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ’, प्रमुख लोहनीले भने ।

उनले केरुङ नाकाबाट भित्रिएको सुनमा चीनीया नागरिकको सङ्लग्नता रहेको अनुसन्धानमा खुल्न आएको बताए ।

प्रमुख लोहनीले केही दिन अगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समातेको २२ किलो सुन कारोबारीसँग अहिलेको सुनको कारोबारीको सम्बन्ध छ वा छैन भन्ने बारेमा महाशाखाले अनुसन्धान गरिरहेको स्पष्ट पारे ।

‘सुन तस्करीमा एक/दुई जनामात्र नभई ठूलो समूह रहेको छ, उनीहरूको चाँडै खोजी गछौँ’, लोहनीले भने ।

महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीको नेतृत्वमा गएको टोलीले उक्त सुन बरामद गरेको हो ।

यसभन्दा पहिला ठूलो परिणाममा एक साता पहिले नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरोले २२ किलो र गत वर्षको माघमा ३३ किलो वरामद गरेको थियो ।

यस्तै महाशाखाकै टोलीले अवैध मोवाइल तथा लत्ताकपडासहित तीनजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले काठमाडौं उपत्यकाभित्र केही व्यक्तिहरू भन्सार छली अवैधरुपमा मोवाइल तथा लत्ताकपडा चोरी पैठारी गरी भारतबाट काठमाडौं ल्याएको अवस्थामा स्वयम्भुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही घर भएका बसका चालक बलबहादुर दवाडी, काठमाडौंका जितेन्द्र डंगोल र दोलखाका सहचालक पासाङ लामा रहेका छन् ।

महाशाखाले पक्राउ परेकासँग विभिन्न कम्पनीका मोबाइल १३४ थान, कुर्ता टप्स एक हजार ६१३, फ्रक ३७, कटन पेन्ट १०१, लेहेन्गा १९, सारी १८, कुर्ता सुरुवाल ३७ र प्यारालाल सुरुवाल १२ थान बरामद गरेको छ ।

Published : Monday, 2017 September 4, 5:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया