ईन्काउन्टरबाट बाँचे ‘चक्रे’का खास मान्छे, पालो अब दावा लामाको

काठमाडौं । राजधानीमा आपराधिक गतिविधि गर्दै आएका कुख्यात गुन्डा नाइके मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’का खास सहयोगीलाई ईन्काउन्टरको प्रयास गरेको छ ।

चक्रे मिलनको आडमा भक्तपुर जिल्लामा गन्डागर्दी गर्दै आएका ‘फिस्टे डन’ अर्थात रामेश्वर गौतमलाई प्रहरी शुक्रबार राति गोली प्रहार गरेको हो । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनीले गौतमलाई पक्राउ गर्न गएको टोलीमाथि गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको बताए ।

काठमाडौंको पेप्सीकोलास्थित मनहरा खोलाको पुलमा शुक्रबार साँझ साढे सात बजे प्रहरीले गौतममाथि ३ राउण्ड गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली गौतमको दाहिने खुट्टामा लागेको छ । गोली लागेपछि भाग्न नसकेका गुन्डा नाइके गौतमलाई प्रहरीले पक्राउ गरी उपचारका लागि वीर अस्पताल लगेको थियो ।

गुन्डागर्दी गर्दै आएका चक्रे मिलनको संरक्षणमा रहेका रामेश्वर गौतम नेपाल प्रहरीका भगौडा सिपाही हुन् । हतियार चलाउन जानेका गौतमलाई केही महिना अगाडि चक्रे मिलनले आफ्नो समूहमा प्रवेश गराएका थिए । गौतमको दर्जनौं आपराधिक गतिविधिमा संलग्नता छ । हत्या, अपहरण, फिरौती, धम्की लगायतका थुप्रै मुद्दामा गौतमले सजाय काटिसेकका छन् ।

प्रहरीमा कार्यरत रहेका बेला गौतम हतियार लिएर फरार भएका थिए । माओवादी जनयुद्धका बेला उनले सिपाहीको जागिर छाडेर भागेको प्रहरीले जनाएको छ । त्यसपछि पक्राउ गरेर गौतमलाई कारबाही गरिएको थियो । हतियार चोरेर भागेको अभियोगमा गौतमले डेढ वर्ष जेल सजाय पाइसकेका छन् ।

जेलबाट सजाय काटेर बाहिर आउनेवित्तिकै गौतमले भक्तपुरका जग्गा व्यवसायी विजयप्रकाश सुनुवारलाई अपहरण गरे । सो मुद्दामा पनि उनले ६ वर्ष जेल सजाय भोगेका थिए । गौतमले सुनुवारलाई अपहरणपछि बालुवाखानीमा लगेर टाउको मात्र देखिने गरी गाडेर हिडेका थिए । पीडित सुनवारलाई भक्तपुर प्रहरीले ३ दिनपछि उद्धार गरेको थियो ।

जेलबाट निस्के लगत्तै गौतमले भक्तपुरका अर्का गुन्डा नाइके तथा एमाले निकट युवा संघका उपत्यका अञ्चल कमिटीका उपाध्यक्ष दीपक थापालाई खुकुरी हानेका थिए ।

भक्तपुर सल्लाघारीस्थित मोबाइल पसल तोडफोड, महिलालाई दुर्व्यवहार लगायतका घटनामा गौतमले २४ दिन थुनामा बस्नु परेको थियो ।

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न कुख्यात गुन्डा नाइके मिलन गुरुङ ‘उर्फ’ चक्रे मिलनको आदेशमा गौतमले भक्तपुरमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको प्रहरी भनाइ छ । गौतमको समूहमा हातहतियार मुद्दाका फरार अभियुक्त प्रकाश लामिछाने पनि छन् ।

गुन्डा नाइके गौतममाथिको यो कारबाहीले नेपाल प्रहरी गुन्डाहरूलाई तह लगाउन आवश्यक तयारीका साथ बसेको देखिन्छ । आवश्यक परे ईन्काउन्टर गरेर भएपनि गुन्डाहरूको राज अन्त्य गर्ने तयारीमा प्रहरी रहेको स्रोतको भनाइ छ ।

पालो अब दावा लामाको

यसैबीच, प्रहरीले अर्का गुन्डा नाइके दावा लामालाई पनि उच्च निगरानीमा राखेको छ । प्रहरीका अनुसार दावाका बारेमा उजुरी आएको र छिट्टै कारबाही चलाइनेछ ।

कांग्रेसको संरक्षण रहेका दावालाई तत्काल केही गर्ने अवस्थामा नरहे पनि आवश्यक पर्दा जुनसुकै कमद उठाउने तयारीमा प्रहरी रहेको स्रोतको भइना छ । काभ्रेली गुन्डा नाइकेका रुपमा परिचित दावा लामा आजकाल भूमिगत छन् ।

Published : Saturday, 2017 September 23, 7:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया