‘तिर्खा लाग्दा’मा गौरव, छुल्ठिम र गोविन्दसँगै विनयको अभिनय

काठमाडौं । गायक एवम् संगीतकार गोविन्दमधुर आचार्यको राष्ट्रभावको ‘तिर्खा लाग्दा पिउन पाउँ हिमनदीको चिसो पानी…’ बोलको गीत रिलिजको अन्तिम तयारीमा छ । यो गीत केही दिनभित्र म्युजिक भिडियोसहित रिलिज गरिने आचार्यले बताए ।

स्वदेशमा केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको यस गीतको छायाँकन दुई दिन लगाएर पूरा गरिएको छ । काभ्रेको पनौती र साँघामा म्युजिक भिडियोको छायाँकन गरिएको थियो । म्युजिक भिडियोलाई निर्देशन भने फिल्म निर्देशक दीपक ओलीले गरेका हुन् । ‘रोल्पा रोग’ र ‘कुम्भकरण’ फिल्मका निर्देशक ओली युवा निर्देशकका रुपमा चर्चित छन् ।

गीतलाई यम भण्डारीले लेखेका हुन् । राम्रो सम्भावना बोकेका भण्डारीको शब्दमा रेकर्ड भएको यो पहिलो गीत हो । भण्डारीले भने, ‘आउने दिनमा अझै राम्रा रचनालाई रेकर्ड गराएर ल्याउनेछु ।’

राष्ट्रभावको यस गीतमा स्वर संगीत गोविन्दमधुर आचार्यको छ । धेरै गीतहरूमा संगीत गरिसकेका आचार्य स्वयंले गीतको एरेञ्ज गरेका हुन् । ‘राष्ट्रभावमा बगेको यस गीत राम्रो बनेको छ’, उनले भने, ‘अहिलेसम्म जतिले सुनेका छन् सबैले राम्रो छ भनेर हौसला दिनु भएको छ ।’

गीतको म्युजिक भिडियोमा पनि धेरै मिहिनेत गरेको गायक आचार्यले बताए । उनले भने, ‘गीत राम्रो भएका कारण म्युजिक भिडियो पनि राम्रो बनाउने प्रयास गरिएको छ ।’ म्युजिक भिडियोमा पछिल्लो पुस्ताले रुचाएका नायक र नायिकालाई मोडलका रुपमा प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोमा नायक एवम् मोडल गौरव पाहारीले अभिनय गरेका छन् । ‘होस्टेल’, ‘गाजलु’ लगायतका राम्रा फिल्महरूमा नायक भएर काम गरिसकेका गौरवलाई म्युजिक भिडियोमा मोडलका रुपमा राखिएको छ । गौरवको अपोजिटमा नायिका एवम् मोडल छुल्ठिम गुरुङ छिन् । छुल्ठिम ‘नोभेम्बर रेन’, ‘डायरी’ लगायतका फिल्ममा अभिनय गरेकी नायिका हुन् ।

म्युजिक भिडियोमा अस्मिता बस्नेत र बालकलाकारमा विनयजंग योगीले अभिनय गरेका छन् । विनयले गौरवको सानो छँदाको बाल अवस्थाको अभिनय गरेका छन् । छायाँकन रविन्द्र बरालले गरेका हुन् ।

Published : Monday, 2017 August 28, 1:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया