दाङमा रोजगारमूलक तालीम : डिल्ली चौधरी

दाङ । श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङका युवालाई सरकारले तालीम दिलाई स्वदेशमै रोजगारी दिने बताउनुभएको छ ।

नेपाल नेत्रज्योति संघ दाङ शाखाले सोमबार आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री चौधरीले नेपालमा रोजगार नहुँदा लाखौँ युवा विदेश पलायन हुनुपर्ने अवस्था न्युन गरिनेमा जोड दिंदै उहाँले भन्नुभयो –“अब नेपालमै युवाले कम्तीमा रु २५ हजार आम्दानी गर्नसक्ने वातावरण सिर्जना गर्न विभिन्न सीपमूलक तालीम सञ्चालन र उद्योग कलकारखाना विस्तार गर्न सरकार लागेको छ । ”

यसअघि राज्यमन्त्री चौधरीले संघले सञ्चालन गरेको राप्ती आँखा अस्पतालको अवलोकन गर्नुभएको थियो । अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले उहाँलाई अस्पतालको भौतिकस्थिति र सेवाबारे जानकारी गराउनुभएको थियो ।

‘रंगशाला निर्माण हुने’

आगामी २०७५ सालमा हुने वृहत ८ औँं राष्ट्रिय प्रतियोगीतालाई मध्यनजगर गर्दै दाङमा रंगशाला निर्माण हुने भएको छ । दाङ जिल्ला खेलकुद विकास समितिले बेलझुण्डीमा रहेको समितिको जग्गामा रंगशाला निर्माण गर्न लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले जानकारी दिनुभएको छ ।

खेलकुद विकास समितिको १५ बिगाहा जमिनमा यही आर्थिक वर्षभित्र रंगशाला निर्माणको काम सुरु गरिने र यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले रु दुई करोड रकम विनियोजन गरिसकेको छ । पहिलो चरणमा फुटबलका लागि फिल्ड र ट्र्याक निर्माण हुने अध्यक्ष डाँगीले बताउनुभयो । तीस हजार दर्शक अट्ने गरी रंगशाला निर्माण हुने छ ।

पहिलोचरणमा फुटबलका लागि रंगशाला तयार हुनेछ भने विस्तारै अन्य भौतिक संरचना निर्माणका लागि थप बजेटसमेत उपलब्ध हुने उहाँले बताउनुभयो ।

त्यसैगरी यो वर्ष रामपुरमा रहेको क्रिकेट मैदानका लागि रु २० लाख र त्यहाँ रहेको खेलकुद विकास समितिको ४५ बिगाह जमिन संरक्षणका लागि रु १० लाख बजेट छुट्याइएको डाँगीले बताउनुभयो ।

Published : Monday, 2017 August 28, 12:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया