मैनादीबाट दैनिक ५५ सय किलो गोलभेँडा निकासी

पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७ अन्तर्गत पर्ने मैनादीको एउटा टोलबाट दैनिक पाँच हजार ५०० किलो गोलभेँडा निकासी हुन थालेको छ ।

उक्त टोलबाट दैनिक ठूलो मात्रामा गोडभेँडा पोखरा, स्याङ्जा, रूपन्देहीमा निकासी हुँदै आएको छ । बीस दिनको अवधिमा दैनिक पाँच हजार किलोसम्म गोलभेँडा उत्पादन भइ पाँच लाखसम्म आम्दानी गाउँमा भित्रिएको छ ।

गोलभेँडाले बजार पाएसँगै किसानले सामान्यतया रु तीन/चार लाखदेखि १०/१२ लाखसम्म आम्दानी लिन सफल भएकोे सहकारीको दाबी छ । दैनिक १०० देखि ७०० किलोसम्म गोलभेँडा बिक्री गर्नेहरू १० भन्दा बढी किसाान छन् ।

मैनादी कृषि सहकारीले किसानलाई बीउ वितरण, प्राविधिक सहयोग, बजारीकरण र ऋण प्रदान गर्न थालेपछि यहाँ गोलभेँडा उत्पादन अहिले बढेको हो । अहिले यस वडामा ६५ जना किसानबाट उत्पादित गोलभेँडा रु ६५ देखि ९० मा थोक मूल्यमा बिक्री गर्दै आएको सहकारीका अध्यक्ष नुरबहादुर कुँवरले जानकारी दिनुभयो ।

परम्परागत खेतीबाली छाडेर गोडभेँडा उत्पादनमा मात्र लागेपछि यहाँका किसानको जीवनस्तर फेरिएको छ । मासिक १०० सहकारीमा बचत गरेर रु एक लाखसम्म ऋण पाउने भएपछि किसानले गोडभेँडामा लगानी बढाएका हुन् ।

अध्यक्ष कुँवरका अनुसार दैनिक ७०० किलो गोलभेँडा बेच्नेहरू दैनिकरूपमा बढेका छन् ।  स्थानीय बासिन्दा डुलबहादुर कुँवरले व्यावसायिकरूपमा गोलभेँडाखेतीबाट गाउँलेको जीवनस्तर माथि उठेको बताउनुभयो ।

मेहनत गरेर गाउँमा नै पैसा कमाउन सकिन्छ भन्ने नमूना अहिले पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७ बनेको छ ।

बजार व्यवस्थापनका लागि सहकारीले १० युवालाई रोजगारीको व्यवस्था गरेको छ ।सहकारीले दुई स्थानमा गोलभेँडा संकलनको व्यवस्था गरेपछि किसानलाई ढुवानीमा सहज भएको किसान प्रेम परियारले बताउनुभयो ।

Published : Monday, 2017 August 28, 12:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया