भक्तपुर र सर्लाहीमा झडप दुईको मृत्यु, ११ जना पक्राउ

काठमाडौं । भक्तपुर र सर्लाहीमा झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ कलमसी बस्ने ६१ वर्षीय कुमाल सुनार पक्ष र उनकै छिमेकी ४२ वर्षीय राजु सुनार पक्षबीच एक आपसमा झै–झगडा भई कुटपिट हुँदा कुमाल सुनारको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

झगडामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगागीबाट खटिएको प्रहरीले झगडामा संलग्न चाँगुनारायण नगरपालिका–८ कलमसी बस्ने ४१ वर्षीय राजन सुनारसहित १० जनालाई नियन्त्रणमा लिएको छ ।

उता, सर्लाहीको गोडैता नगरपालिका–६ बगदहस्थित चुनावको विषयलाई लिएर दुई पक्षबीच झै–झगडा भई कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिबार राति मृत्यु भएको छ ।

उक्त स्थानमा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि कृष्ण मेडिकल एण्ड रिसर्च सेन्टर जनकपुर पठाएकोमा उपचारको क्रममा रायको मृत्यु भएको छ ।

अन्य घाइतेको अवस्था सामान्य रहेको छ । कुटपिटमा संलग्न सोही ठाउँ बस्ने बस्ने १९ वर्षीय बिक्रम रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Sunday, 2022 November 20, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया