भक्तपुरसहित विभिन्न स्थानबाट यी व्यक्तिहरु लागूऔषध काण्डमा पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरमा लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–१० कमलविनायकबाट नियन्त्रित लागूऔषध नुफिन ५ सय ३८ एम्पुल, डाइजेपाम ५ सय ८८ एम्पुल, फेनारगन ६ सय ७० एम्पुल, सिरिन्ज ६ थान र चोरी गरेको मोटरसाइकलको हेल्मेट १० थानसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भई भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३३ वर्षीय रविन तामाङ र ३४ वर्षीया सुस्मिता खड्का रहेका छन् ।

सो स्थानमा लागूऔषध बिक्री तथा ओसारपसार हुने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उता, कपिलवस्तुको मायादेवी गाउँपलिका–३ बहरवसियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वाणगंगा नगरपालिका–८ ढोडेकोल बस्ने २७ वर्षीय प्रभु थारु र सोही नगरपालिका–७ मोतीपुर बस्ने २९ वर्षीय अर्जुन थारु रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले दोहनीबाट पचेहरातर्फ जाँदै गरेको लु.१७ प.५७२८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक अर्जुन र मोटरसाइकलमा सवार प्रभुलाई पक्राउ गरेको हो ।

मोरङको जहदा गाउँपालिका–४ तेलिया चोक बस्ने ३८ वर्षीय श्यामलाल मुखियालाई अवैध लागूऔषध गाँजा १ किलोसहित प्रहरीले पक्राउ गरेको छ ।

उनको भान्सा कोठामा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यता, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा ११ किलो ३ सय ९० ग्रामसहित
पर्साको वीरगंज महानगरपालिका–२२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.१ ज २६२७ नम्बरको म्याजिकलाई जाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई ल्याएको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2022 October 25, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया