सगुन सहकारीका कर्मचारीलाई गोली हान्ने बिहारीहरूको ग्याङ पक्राउ

काठमाडौं । प्रहरीले सर्लाहीमा गोली हान्ने समूहका चार जनालाई पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका–२ जुटपानी घर भई सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत ३० वर्षीय साजन कार्कीलाई गोली प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जनालाई पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा धनकौला गाउँपालिका–१ बस्ने ३२ वर्षीय धिरेन्द्र सहनी ‘डिजे’, भारतको बिहार राज्यको तरयानी छप्रा–८ बस्ने १९ वर्षीय आलोक सिंह ‘रेहान’, भारतको बिहार राज्यको सुलतानपुर–१० बस्ने १९ वर्षीय सौरभकुमार यादव र भारतकै बिहार राज्यको हराज–१२ बस्ने १९ वर्षीय गुलसनकुमार सिंह रहेका छन् ।

बागमती नगरपालिका–१ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत उनलाई बुधबार दिउँसो गोली प्रहार गरी घाइते बनाएको घटनाको थप अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न आलोक, सौरभकुमार, गुलसनलाई बलरा नगरपालिका–३ लक्ष्मीपुरबाट र धिरेन्द्रलाई धनकौल गाउँपालिका–१ बाट पक्राउ गरेको हो । साथै घटनास्थलबाट प्रहरीले गोलीको खोका ४ थान र फायर भएको बुलेट ४ थान बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2022 October 20, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया