सिन्धुपाल्चोकका ‘बज्रसिंह’ काठमाडौंमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३३ वर्षीय बज्रसिंह लामालाई पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका–५ लाटेबोटडाँडा ठेगाना भएका लामालाई मंगलबार प्रहरीले गोंगबुबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उच्च अदालत पाटनको २०७८ चैत १ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद र २५ लाख रुपियाँ जरिवाना ठहर भएपछि लामा फरार रहेका थिए ।

लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी एनएमबी बैंक लिमिटेड बौद्धमा रहेको आफ्नो खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

यसैबीच, काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषधसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाराको महागढीमाई नगरपालिका–१ बस्ने २३ वर्षीय साहिद रजा र सुनसरीको गडी गाउँपालिका–३ बस्ने २३ वर्षीय प्रमोदकुमार मेहता रहेका छन् ।

नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार साहिदलाई नियन्त्रित लागुऔषध नाईट्राभेट ६ सय ट्याब्लेट र काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २३१४ नम्बरको बसमा सवार प्रमोदलाई डाईजेपाम २ सय एम्पुल, लुपिजेसिक २ सय एम्पुल र नाईट्राभेट १ हजार ८ सय ५ ट्याब्लेटसहित फेला पारी पक्राउ गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

Published : Wednesday, 2022 April 6, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया