बागलुङमा तिलाको हत्या, रत्नबहादुरलाई पक्राउ

बागलुङ । बागलुङ जिल्लामा पत्नीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा ५५ वर्षीय रत्नबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

रत्नबहादुरले आफ्नै श्रीमती ४२ वर्षीया तिला नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिएका छन् ।

बागलुङ नगरपालिका–१४ नमूनागाउँ बस्ने रत्नबहादुरलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

ढुंगा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले रत्नबहादुरलाई पक्राउ गरेको एसपी ज्ञवालीले बताएका छन् ।

गम्भीर घाइते तिलाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो ।

हत्याको घटनाका सम्बन्धमा बागलुङ प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2022 March 17, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया