विमानस्थलबाट सुन तस्करी गर्ने सरकारी कर्मचारीसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवकलाई सुनका सिक्रीहरूबाट पक्राउ गरेको छ ।

अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको १ हजार १ सय ६५ ग्राम तौल भएको सुनको १० थान सिक्रीसहित सुनसरीको ईटहरी उप–महानगरपालिका–१६ लविपुर घर भएका ३४ वर्षीय कमल घिमिरेलाई विमानस्थलको आगमन टेनल गेटबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

फ्लाई दुवईको उडानद्वारा दुबईबाट नेपाल आएका घिमिरेलाई जाँच गर्दा उक्त सिक्री लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा लक्ष्मण गुरागाइँले अध्यागमन एरियामा रहेको शौचालयमा गई कमल घिमिरेले ल्याएको सुनको सिक्रीहरू लिई भन्सार चेकजाँच क्षेत्र पास गराएको खुलेको छ ।

पुनः सोही क्षेत्रको शौचालयमा गई सुनका सिक्रीहरू फिर्ता दिएको खुल्न आएपछि गुरागाइँ समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद सुनको सिक्रीसहित दुवै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।

Published : Saturday, 2022 February 26, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया