वसन्तपुरमा लप्टेनको यसरी भयो हत्या गर्ने काम फत्ते, अवैध यौनसम्पर्क

लमही । दाङको राप्ती गाउँपालिका वडा नं. ३ वसन्तपुरका ५४ वर्षीय लप्टेन चौधरीको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।

चौधरीको हत्या अभियोगमा उनकै ५० वर्षीया उमादेवी चौधरी र मसुरिया बस्ने ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङबाट जारी विज्ञप्तिमा उल्लेख छ । उमादेवी र हनुमानबीचको अबैध यौनसम्बन्धका कारण लप्टेनको हत्या भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

हत्या भएका हनुमानले आफ्नी पत्नी उमादेवीलाई परपुरुष हनुमानसँग अबैधसम्बन्ध रहेको भनेर गालीगलौज र कुटपिट गर्दै आएको प्रहरीले जनाएको छ ।

लप्टेन फागुन १ गते बिहान साढे ६ बजेको समयमा काम गर्न जान्छु भनि गढवा गाउँपालिका वडा नं. ३ गोवरडिया गएको भन्दै उनकी पत्नी उमादेवीले खोजतलासको माग गर्दै फागुन ५ गते प्रहरीमा निवेदन दिएकी थिइन् ।

लप्टेनको खोजतलाश गर्ने क्रममा फागुन ५ गते बेलुकी अन्दाजी ६ बजे गढवा गाउँपालिका वडा नं. २ कोठरीस्थित राप्ती नदीमा मृत फेला परेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

लप्टेनको शव हेरेपछि छरछिमेकीहरूले घटना शंकाष्पद भएको भनेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा मृतकको छरछिमेकमा सोधपुछ गर्दा मृतक लप्टेन र उनकी श्रीमती उमादेवीबीचको सम्बन्ध लामो समयदेखी राम्रो नभएको खुल्न आएको जानकारी पाएको थियो ।

सोधपुछका क्रममा उमादेवीले राप्ती गाउँपालिका वडा नं. ३ मसुरियाका हनुमानसंग अबैध प्रेम सम्बन्ध छ भनी गाउँसमाजमा पहिलेदेखी बेइज्जत गरेको बयान प्रहरी समक्ष दिएकी थिइन् ।

उमादेवीलाई कुटपिट गर्ने गरेकाले पहिलेदेखि मृतक लप्टेन चौधरीलाई मार्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

फागुन २९ गते मृतक लप्टेनले उमादेवीलाई मार्ने धम्की दिनुका साथै हातपात समते गरेको भनी हनुमानलाई फोन गरी जानकारी गराएकी थिइन् ।

हनुमानले उमादेवीसँग फोनमा लप्टेनको अवस्था कस्तो छ ? भनी सोधेका थिए । नशामा लठ्ठ छ भनेपछि मृतक लप्टेनलाई सुतेको कोठामा छाडेर घरको दक्षिण तर्फको ढोका खुल्ला छाडी उमादेवीले १२ वर्षीय छोरीलाई लिई अर्को कोठामा सुत्न गएकी थिइन् ।

फागुन २९ राति करीब १० बजेको समयमा हनुमान घरको दक्षिणतर्फको खुल्ला रहेको ढोकाबाट घरभित्र प्रवेस गरी मृतक सुतेको कोठामा गई लप्टेन सुतिरहेको अवस्थामा उनको छातीमा मुड्कीले हानेका थिए ।

लप्टेन छटपटाउन लागेपछि भुइँमा लडाइँ घाँटी च्यापी कर्तब्य गरी मारेर आफैले पिठ्युँमा बोकी मृतकको एकजोर जुत्ता समेत साथमा लगेर राप्ती नदीमा फालेको बयान हनुमानले प्रारम्भीक बयान दिएका छन् ।

उमादेवी र हनुमानलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Published : Sunday, 2022 February 20, 7:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया