यी धुन्धुकारीहरूलाई कारबाही गर्ने सीआईबीको चेतावनी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रिप्टोकरेन्सी कारोबारमा निगरानी भइरहेको भन्दै त्यसमा संलग्न रहेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

सीआईबीले आइतबार विज्ञप्ति जारी गरेर क्रिप्टोकरेन्सी, हाइपर फन्ड तथा डिजिटल नेटवर्किङ लगायत कारोबारमा संलग्न भेटिए कानूनबमोजिम कडा कारबाही गर्ने जनाएको हो ।

सीआईबीका निर्देशक (डीआईजी) धिरजप्रताप सिंहले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोबारमा संलग्नहरूका बारेमा अनसन्धान गरिरहेको बताए ।

‘क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोबार नेपालमा प्रतिबन्धित भई यस कार्यालयबाट समेत निगरानी भइरहेको छ’, सिंहले भनेका छन् ।

‘विगतमा संलग्न व्यक्तिहरू उपर अनुसन्धान गरी कानून बमोजिम कारबाही समेत भइसकेको हुँदा उक्त व्यवसायहरू सञ्चालन तथा कारोबार नगर्न, नगराउन हुन एवम् यससँग सम्बन्धित कुनै पनि क्रियाकलापमा संलग्न भए गरेको पाइए कडाईका साथ कानूनी कारबाहीको प्रकृया अगाडि बढ्ने व्यहोरा सूचित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

निर्देशक सिंहले यसमा संलग्न व्यक्ति वा संस्थाका बारेमा कुनै जानकारी भए सूचना उपलब्ध गराउन आग्रह गरेका छन् ।

कसुर गर्ने व्यक्तिलाई कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसुरको मात्रा हेरी बढीमा दश लाख रुपियाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको सीआईबीले जनाएको छ ।

Published : Sunday, 2022 February 13, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया