सीआईबीद्वारा नुवाकोटबाट ओलीलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४० वर्षीय लवराज ओलीलाई पक्राउ गरेको छ ।

सीआईबीको टोलीलाई ओलीलाई बुधबार पक्राउ गरेको जनाएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–८ बस्ने ओलीलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उच्च अदालत पाटनबाट २०७७ फागुन २३ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ९ लाख ६३ हजार रुपियाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–६ गुर्जुभञ्ज्याङबाट पक्राउ गरेको सीआईबीले जनाएको छ ।

ओलीले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी ज्योति विकास बैंक लिमिटेड (साविकको हाम्रो विकास वैंक लिमिटेड)मा रहेको खाताबाट भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट उक्त फैसला भएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

Published : Thursday, 2022 January 27, 5:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया