दाङ र रुकुम पश्चिमका दुई चोर काठमाडौंमा पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखा, काठमाडौंले दुई जनालाई पुरातात्विक महत्वका सामग्रीहरू चोरी गरेको अभियोगमा पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ केशरमहलबाट बुधबार दिउँसो दुई जनालाई पुरातात्विक महत्वका सामग्रीसहित पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बसुन्धरा बस्ने दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका–३ ठेगाना भएका १८ वर्षीय सुमन शर्मा र काठमाडौंको केशरमहल बस्ने रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका–११ घर भएका ३६ वर्षीय बीरबहादुर सुनार रहेका छन् ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भई प्रबलिकरणको कार्य भइरहेको केशरमहलभित्र केशर पुस्तकालयको ठूलो कोठाभित्र सङ्कलन गरी राखिएको पुरातात्विक महत्वको सामानसहित पक्राउ गरिएको छ ।

अस्थाई रूपमा सूचीकरण गरिएको बाघको टाउकोको नम्बर २६, २ थान तरवार समेत चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ केशरमहलमा बोरामा राखी फालेको अवस्थामा २ थान तरवार र ३ किलो तौल भएको बाघको टाउको जस्तो देखिने १ थान बस्तु बुधबार दिउँसो फेला पारेको थियो ।

थप अनुसन्धानको क्रममा उक्त सामग्रीहरू चोरी कार्यमा संलग्नमध्ये उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौं पठाइएको तथा चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको उक्त महाशाखाले जनाएको छ ।

Published : Thursday, 2022 January 20, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया