विनोद चौधरी र मलाई बैंकले विनाधितो ऋण दिन्छ, किसान र गरिवलाई दिँदैनः राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बैंकहरूले विनोद चौधरी र म गएर उभियौँ भने १०/२० अर्ब पैसाद दिन धितो खोज्दैन तर, किसान र गरिव गएर ऋण माग्यो भने नदिने गरेको बताएका छन् ।

ललितपुरको कुपण्डोलमा शनिबार विशेष समितिको आयोजनामा विभिन्न ३० जिल्लाका कांग्रेस सभापतिहरूसँग भएको ‘गरिखाने कांग्रेस’ बन्ने बनाउने अभियानको बृहत कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले किसान र गरिवलाई बैंकबाट ऋण दिलाएर व्यापार व्यवसाय गर्न सहयोग गर्ने बताए । राज्यमन्त्री श्रेष्ठ समितिको सह–संयोजक पनि हुन् ।

‘कांग्रेसका जिल्ला सभपातिहरू राम्रा छन् भने अवसर दिने हो । बैंकमा पहुँच बनाइदिने हो’, उनले व्यवहारिक कुरा गर्दै भने, ‘विनोद चौधरी म बैंकमा गयौँ भने १०÷२० अर्ब पैसा दिनलाई केही धितो चाहिँदैन । हामी काम पनि गर्छौं । बैंकले विश्वास गरेर दिन्छ ।’

‘बैंकले एउटा किसान, गरिव मान्छेहरूलाई ५ लाख, १० लाख १५ लाख, २० लाख दिँदैन । उ बैंकको पहुँचमा पनि पुग्न सक्दैन । उसलाई बैंकले पैसा पनि दिँदैन । के हो के हो भनेर । हामीले पहिचान गराउनु पर्‍यो । समूह गराउनु पर्‍यो । काम गराउनु पर्‍यो । त्यो चिजलाई हामीले गरेर देखाइदिनुपर्नेछ’, उनले भनेका छन् ।

‘कसैको केही छैन भने ५ जनाको समूह बनाएर बैंकलाई ऋण देउ है भन्ने हो । फेल हुने काम नगरौँ’, श्रेष्ठले भने, ‘सफल हुने काममा बाटो देखाइदिनुपर्छ । सरकारले ५ देखि २० लाखसम्म ऋण दिन भनेको छ ।’

उनले भने, ‘शिक्षामा परिवर्तन गर्नुपर्छ । शिक्षामा परिवर्तन गर्‍यौँ भने परिवर्तन हुन्छ । निजी क्षेत्रमा पढेकाहरू गरिखान सक्छन् । सरकारीमा पढेकाहरूलाई जीवनयापन गर्न कठिन छ । निजी बनाएर व्यवहारिक शिक्षामा जोड दिनुपर्छ । जीवनमा फेल भएको मान्छे होइन । काम गरेर देखाउनुपर्छ ।’

विगतमा केपी ओलीको सरकारले टिम बनाएर पैसा बाँडेको बताएका उनले कांग्रेसले योजना र काम गर्ने दक्षता रहेको व्यक्तिलाई सहयोग गरेर बैंकबाट ऋण दिलाएर उद्यमी बनाइने बताएका छन् ।

Published : Saturday, 2021 August 14, 11:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया