१६ वर्षपछि ढकालको पाप धुरीबाट करायो

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंले १६ वर्षपछि अपहरण गरि धनमाल डाका गरेको काण्डमा जगन्नाथ ढकाललाई पक्राउ गरेको छ ।

ढकालसहितको ११ जनाको समूहले २०६१ साल असो ७ गते काठमाडौंको जडिवुटीमा नारायण खनाललाई अपहरण गरि ११ लाख ६३ हजार ९ सय बराबरको धनमाल लुटेको थियो ।

प्रहरीले अरुलाई पक्राउ गरेपनि ढकाललाई पक्राउ गर्न सकेको थिएन ।

ढकालसहितको समूहले खनालाई नियन्त्रणमा लिई मुखमा टेप लगाई जवरजस्ती भ्यानमा राखेर एकान्तस्थानमा लगेर नगद, मोटरसाईकल र मोवाइल समेत गरी जम्मा ११ लाख ६३ हजार ९ सय बराबरको धनमाल डाँका गरेको प्रहरीले जनाएको छ ।

घटना हुनेवित्तिकैदेखि ३९ वर्षीय ढकाल फरार थिए । उनी १६ वर्षपछि पक्राउ परेका छन् ।

ढकाल विदेशमा गई बसेको र पछिल्लो समयमा नेपाल आई लुकिछिपी बसेको अवस्थामा महाशाखाबाट खटिएको विशेष टोली, जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको सयुक्त टोलीले २०७७ मंसिर १ गते दिउँसो मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–७ बाट पक्राउ गरि ल्याएको छ ।

ढकालको समूहले २०६१ असोज ७ गतेका दिन नारायण खनाल बनेपा मिटिङबाट बा.१६ प. ६८२१ नम्वरको मोटरसाईकलमा फर्कदै गरेको अवस्थामा काठमाडौंको जडिवुटीमा आईपुग्दा अपहरण गरेर लुटपाट गरेको थियो ।

तत्कालीन समयमा नाम थर नखुलेका ५ जना व्यक्तिहरूले हामी सुरक्षाकर्मी हौं भनि मोटरसाईकल रोकी नारायण खनाललाई बोल्न कराउन नदिई मुखमा टेप समेत लगाई भ्यानभित्र राखी एकान्तस्थानमा लगेर नगद रु. १० लाख २५ हजार लुटेका थिए ।

नारायण खनालको साथमा रहेको मोबाइल र बा.१६प. ६८२१ नम्वरको पल्सर मोटरसाईकल समेत उनीहरूले लुटेर लगेका थिए ।

अनुसन्धानको क्रममा उक्त घटनामा जगन्नाथ ढकाल समेत ११ जना व्यक्तिहरूको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

२०६३ फागुन १३ गतेको पुनरावेदन अदालत पाटनको आदेशले ढकाललाई थुनामा राख्ने आदेश भएको थियो ।

ढकालले तारेख गुजारी बसेका थिए । २०६४ साल भदौ ६ गतेको काठमाडौं जिल्ला अदालतको फैसलाले ढकाललाई ६ वर्ष कैद र जरिवाना रु. १ लाख ९६ हजार ६ सय ५० रुपियाँ सजाय हुने गरी फैसला भएको थियो ।

Published : Wednesday, 2020 November 18, 3:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया