बालकृष्ण खाँणले सिकाए कम्युनिस्ट सरकारलाई पाठ, दिए गिरिजाबाबुको उदाहरण

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कम्युनिस्ट सरकारले संविधानले दिएको विरोध गर्न पाउने अधिकारलाई कुठित गर्न खोजेको भन्दै भावी दिनहरूमा शान्तिपूर्ण विरोध प्रदर्शनहरूमा दमन नगर्न चेतावनी दिएका छन् ।

संसदको शुक्रबार बसेको बैठकमा शुरुमै समय लिएर बोल्दै खाँणले शान्तिपूर्ण रुपमा हुने विरोध प्रदर्शन, कालो झण्डा देखाउनेलगायतका प्रदर्शनहरूमा दमन गरिए सरकारले त्यसको मूल्य चुकाउनुपर्ने बताए । ‘यस्ता कार्य ग¥यो भने सरकारले मूल्य चुकाउनु पर्नेछ’, उनले चेतावनी शैलीमा भने, ‘संविधानले दिएको अधिकारमा बन्देज लगाउने कार्य नहोस् ।’
विगतमा तत्कालीन नेकपा (एमाले)का अराजक विरोध प्रदर्शनहरूतर्फ संकेत गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले भने, ‘अहिले हामी ढुंगामुढा गर्ने कार्यक्रममा छैनौँ । विगतमा विपक्षी दलले कालो झण्डा देखाउने मात्र होइन ढुंगामुढा नै गर्नुभयो । हामी त्यो गर्ने पक्षमा छैनौँ ।’

‘नेपाली नागरिकहरूले शान्तिपूर्ण रुपमा विरोध गर्ने, प्रदर्शन गर्ने, कालो झण्डा देखाउने अधिकार त यो संविधानले रक्षा गरेका अधिकार हुन्’, उनले भने, ‘यो अधिकारलाई कुण्ठित गर्ने जसरी सरकारी संयन्त्रले काम गरेको छ त्यसको म घोर विरोध गर्दछु । यस्ता कृयाकलापहरू ठाउँ ठाउँमा नदोहरियोस् ।’

असार १० गते कञ्चनपुर जिल्लामा स्थानीयबासिन्दाहरूले सरकारका क्रियाकलापलाई लिएर विरोध जनाएको बेला सुरक्षा संयन्त्रको घेराभित्र रहेर सत्तारुढ दलका कार्यकर्ताले नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको भन्दै खाँणले संसदमा विरोध जनाएका हुन् ।

‘त्यहाँ सरकारले निर्मला पन्तको हत्यारा र अपराधि पत्ता लगाउन नसकेको अवस्थामा । विकास निर्माणले तिब्रता लिन नसकेको अवस्था । जनताले सहज रुपमा पिउने पानी प्राप्त गर्न नसकेको अवस्थामा कालो झण्डा देखाइएको थियो’, नेपाली कांग्रेसका नेता खाँणले भने, ‘कालो झण्डा देखाउनेहरूलाई सत्तासिन पार्टी बरबरतापूर्वक आक्रमण गरेको छ । त्यो पनि सुरक्षा घेराभित्र रहेर ।’

नेता खाँणले भनेका छन्, ‘नेपाल सरकारको सुरक्षा निकायले सबै नागरिकहरूको सुरक्षा गर्नुपर्ने हुन्छ । सुरक्षा गर्नुको साटो शान्तिपूर्ण रुपमा भेला भएर विरोधका स्वरहरू व्यक्ति गर्नेमाथि दमन गरिएको छ । त्यसको घर विरोध गर्दछु ।’

‘सरकारको विरोध गर्ने, आलोचना गर्ने यो नागरिकहरूको अधिकार हो’, उनले भनेका छन्, ‘यो अधिकारलाई कुनै पनि सरकारले कुण्ठित गर्न पाउँदैन ।’

कञ्चनपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगर समितिका सचिव बिक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट, नगरप्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुर्नवास नगरपालिका वडा नं. २ का सभापति चन्द्रमणि गैरे, नेपाल तरुण दलका कृष्ण चन्दलगायतका साथीहरू घाइते भएको नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले बताए ।
‘यो घटनाको सरकारले गम्भीरतापूर्वक छानविन गरोस् । नागरिकहरूको भेला हुने अधिकारलाई कुण्ठित नगरोस्’, उनले भनेका छन्, ‘विरोधका आवाजहरूलाई गम्भीरतापूर्वक सुनोस् भन्न चाहन्छु ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रमुख सचेतक खाँणले बिगतको एउटा उदाहरण सुनाउँदै भने, ‘०४८ सालमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो । भैरहवामा ठूलो आमसभा भएको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्बोधनको बेला आमसभामा त्यहाँ केही युवाहरूले कालो झण्डा देखाए । सुरक्षा निकायले उनीहरूलाई धरपकड गर्न थाल्यो । प्रधानमन्त्रीले माइकमा आएर भन्नुभयो– म उनीहरूको विरोध गर्ने अधिकारको रक्षाका लागि, प्रजातान्त्रिक अधिकारको रक्षाका लागि, कालो झण्डा देखाउने अधिकारको लागि रक्षा गर्न लडेर आएको मान्छे हुँ । प्रजातान्त्रिक मूल्य पद्धतिप्रति मेरो विश्वास छ । उनीहरूलाई कालो झण्डा देखाउने अधिकार छ । देखाउन देउ । उनीहरूलाई दमन नगर । उनीहरूलाई नथुन भनेर गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको कुर्सीबाट भन्नुभएको थियो ।’

नेता खाँणले भने, ‘गिरिजाप्रसाद कोइरालाको त्यो साहसलाई अहिलेको प्रधानमन्त्रीजीले पनि अनुशरण गर्नुपर्दछ भन्ने आग्रह गर्न चाहन्छु ।’

‘हामीहरू सरकारको मन्त्री हुँदा पनि तेतिखेर विपक्षी पार्टीले देशभरि जहाँ जादा पनि तत्कालीन सरकारका मन्त्रीहरूलाई विरोध कार्यक्रमै थियो उहाँहरूको’, खाँणले भने, ‘घोषित कार्यक्रम नै थियो । ढुंगामुढा नै गर्नुभयो । तैपनि हामीले शान्तिपूर्ण प्रदर्शनलाई कहिल्यै पनि दमन गरेनौँ ।’

Published : Saturday, 2019 June 29, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया